सत्तारुढ दलका नेतासँग निर्वाचन आयोगले माग्यो स्पष्टीकरण !

आसन्न स्थानीय तह निर्वाचनको सरगर्मी बढीरहेका बेला विभिन्न राजनीतिक दलहरुले निर्वाचन आचारसंहिता विपरिका कार्यहरु गरिरहेका छन् । खासगरी सत्तारुढ दलका नेताहरुले नै निर्वाचन आचारसंहित उल्लंघन गरेको भन्दै निर्वाचन आयोगले स्पष्टिकरण मागेको छ । आयोगका प्रवक्ता नवराज ढकालले एक विज्ञप्ती जारी गर्दै सत्तारुढ दल कांग्रेस र माओवादी केन्द्रले आचारसंहिता विपरित निर्वाचन प्रचारप्रसार गरेको जानकारी गराएका छन् ।

धनुषामा कांग्रेसले आयोजना गरेको चुनावी कार्यक्रममा पूर्वउपप्रधानमन्त्री एवं कांग्रेसका नेता विमलेन्द्र निधिले कांग्रेसको निर्वाचन चिन्ह अंकित गम्छा लगाई सहभागी भएको आयोगले जनाएको छ । सो कार्य निर्वाचन आचार संहिता विपरित भएको पनि आयोगको ठहर छ । त्यस्तै, सिरहाको धनगढी नगरपालिकाको जिरो माइलमा आयोजित कांग्रेसको चुनावी सभामा पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई स्वागत गर्न बालबालिकाको प्रयोग गरिएको र सो कार्य पनि निर्वाचन आचारसंहिता विपरितको कार्य भएको अयोगले स्पष्ट पारेको छ ।

त्यसैगरी, धनुषाको मिथिला नगरपालिका लालगढमा मंगलबार कांग्रेस र माओवादी केन्द्रले निकालेको संयुक्त चुनावी र्‍यालीमा दलको झण्डा बोकेर बालबालिकालाई प्रचारप्रसारमा खटाइएको भन्ने जानकारी प्राप्त भएकोमा आयोगको गम्भीर ध्यानाकर्षण पनि जनाएको छ । उक्त क्रियाकलाप निर्वाचन आचार संहिता विपरीत भएको देखिएको हुँदा संयुक्त चुनावी र्‍यालीका आयोजक नेपाली कांग्रेस धनुषाका जिल्ला सभापति र नेकपा माओवादी केन्द्र धनुषा जिल्ला इन्चार्जलाई निर्वाचन आचार संहिता उल्लंघन गरेको भन्दै स्पष्टिकरण मागेको छ । आयोगले उनीहरु सबैलाई ‘कारबाही किन गर्नु नपर्ने हो ?’ भन्ने विषयमा स्पष्ट पार्नका लागि २४ घण्टाको समयसहित निर्देशन दिएको छ ।

प्रमुख दललाई निर्वाचन आचारसंहिता पूर्ण पालना गर्न गराउन आग्रह

निर्वाचन आयोगले प्रदेश दुईमा हुने स्थानीय तह निर्वाचनको प्रचार प्रसारका क्रममा निर्वाचन आचारसंहिता उल्लघंनका घटनाहरु देखिएकाले राजनीतिक दलहरुको ध्यानाकर्षण गराएको छ । दलहरुलाई त्यस्ता कार्य तत्काल रोकी निर्वाचन आचार संहिताको पूर्ण पालना गर्न/गराउन निर्वाचन आयोगले प्रमुख राजनीतिक दलहरुलाई आग्रह गरेको छ ।

आयोगले आज कांग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, संघीय समाजवादी फोरम नेपाल, नेपाल लोकतान्त्रिक फोरम र राष्ट्रिय जनता पार्टी नेपाललाई छुट्टाछुट्टै पत्र पठाई आचार संहिताको पूर्ण पालना गर्न÷गराउन आग्रह गरेको प्रवक्ता ढकालले जानकारी दिए ।

आचार संहिता उल्लंघन भएका विषयहरुः

१. निर्वाचन प्रचार प्रसारको क्रममा तोकिएको संख्याभन्दा बढी गाडी प्रयोग भएको ।

२. गाडी, मोटरसाइकल, रिक्सा र साइकलको र्‍यालीसहितको जुलस प्रदर्शन गरिएको ।

३. निर्वाचन प्रचारप्रसारमा निर्वाचन चिह्न अङ्कित टोपी, टिसर्ट, झोला, गम्छा, स्टिकर आदिको प्रयोग भएको ।

४. निर्वाचन प्रचार प्रसारका क्रममा बालबालिकाको प्रयोग गरिएको ।

५. ठूलो आवाजमा माइक बझाई चुनावी प्रचार प्रसार गरिएको ।

६. भित्ते लेखन गरिएको ।

७. तोकिएको आकारभन्दा ठूलो ब्यानर, फ्लेक्स प्रिन्ट, तूल आदिको प्रयोग भएको ।

८. सार्वजनिक स्थलहरुमा पोस्टर टाँस्ने गरिएको ।

९ तोकिएको भन्दा ठूला आकारका झण्डाहरू प्रयोग गरिएको ।