यो मन बद्लिएन

कविता

लेखक

तिमीलाई सुनाएको परीको कथाकी परी, अचेल कुरुप भैसकीछ!
भूतको कथाको भूत, मान्छे भैसकेछ!
महारानीको कथाकी महारानी ,
सडकछाप भैसकीछ ।

तिमीले पिएको दसधारा
अमृतले विषपान गर्‍यो !
हातको सिरानीमा काँडा उम्रिए!
अंगालो र चुम्बनले पसिनाको गन्ध
फैलाउन थाल्यो ।

खाना खुवाउने हातमा नङ्ग्रा पलाए
निर्दोष आँखाले पुलुक्क हेर्ने
मुहार निस्तेज भयो !
तिमीलाई न्यानो बनाउने धोतीमा
आडम्बरको मैलो लाग्यो ।
तिमीलाई बोकेर हिड्ने ढाड
कुक्रुक्क पर्‍यो असन्तोषको खडेरीले

तिमीलाई सिकाएका कखराहरूले डिग्रीको शिखर चडेर विजयको झन्डा फहराईसके!
तिमीलाई तातेताते गराउने यी औंलाहरू
आफनै घाउ मुसार्न नसकेर लत्रिरहे।
तिमीलाई निद्राको गीत सुनाउने यो जिब्रो
घृणाको तातो तेलले डढेर
कहिल्यै निको नहुने गरि खुम्चियो ।

तिम्रो आँसु पुछ्ने चेष्टा
आफनै आँशुको तालमा डुबेर
स्वाँ स्वाँ उत्रियो पीँधमा पुगेर !
तिमीलाई सम्झने मनमा
आगो लाग्यो !
तर आएन समवेदनाको दमकल
सायद इन्धनको आपूर्ति हुन सकेन ।

तिम्रो पेटेभोटोले बिग्रहका
गीत गुन्गुनाईरह्यो
बाकसको पिँधमा बसेर !
तिम्रा पास्नीका बालाबाट
निस्कन खोज्यो ममताको धुन
मैले सुन्न सकिनँ !
कोलाहल मच्चियो आफ्नै मनमा ।

मेरा हरेक गाँस र घुड्कीले
सधैं तिमीलाई सम्झिइरहे!
मेरो हरेक रात र दिनले
तिमीलाई पर्खिइरहे 
मेरा हरेक उद्देश्य र रहरले
तिमीलाई खोजिरहे 
मेरा हरेक उमङ्ग दुखले
तिमीलाई अंगालिरहे !
मेरा हरेक सपना र हरेक विपनाले तिमीलाई देखिरहे!
बद्लिएछ त्यो दुनियाँ 

तर
यो मन बद्लिएन ।

गुल्मी तम्घास