तीन महिनापछि बल्ल खुल्यो जुफाल विमानस्थल

 तीन महिनापछि डोल्पाको जुफाल विमानस्थल खुलेको छ। धावनमार्ग कालोपत्रे गर्न भन्दै गत असारबाट बन्द विमानस्थल काम सम्पन्न भएपछि शुक्रबारबाट पुनः सञ्चालनमा आएको हो। परीक्षण उडान सफल भएसँगै नियमित उडानका लागि जुफाल विमानस्थल खुलेको हो। विमानस्थल बन्द हुँदा आन्तरिक नाकाबन्दी भोग्न बाध्य डोल्पाली शुक्रबारबाट खुसी बनेका छन्। सडक सञ्जालले नछोएको डोल्पामा हवाई यातायात एकमात्र विकल्प हो। तीन महिनासम्म विमानस्थल बन्द हुँदा सास्ती भोग्दै आएका जिल्लाबासी परीक्षण उडानसँगै हर्षित बनेका हुन्।

शुक्रबार बिहान नेपालगन्जबाट तारा एयरको जहाज जुफाल विमानस्थलमा अवतरण गरेको हो। पाँच सय ६० मिटर लामो विमानस्थलको धावनमार्ग कालोपत्रे गरिएको छ। निर्माण कम्पनी कालिका सिद्धि कन्स्ट्रक्सन जेभीले धावनमार्गमा कालोपत्रे गरेको हो। धावनमार्ग कालोपत्रेको काम सम्पन्न भएपछि विमानस्थल खुला गरिएको इन्जिनियर वीरप्रसाद शाहीले बताए।

कालोपत्रेपछि परीक्षणस्वरूप गरिएको उडान सफल भएसँगै अब नियमित उडान सुरु हुने उनको भनाइ छ। शुक्रबार तारा एयरका वरिष्ठ क्याप्टेन प्रभाकर घिमिरे, क्याप्टेन वसन्त लामा र नागरिक उड्डयन प्राधिकरण नेपालगन्जका प्रमुख प्रतावबाबु तिवारीसहित पाँचजनाको टोलीले जुफाल विमानस्थलमा सफल अवतरण गरेको थियो।

गत असार १ गतेदेखि विमानस्थल बन्द थियो। कालोपत्रे भएपछि विमानस्थलको धावनमार्ग सुधार भएको र यसले जहाज अवतरण तथा उडानमा सहज भएको क्याप्टेन प्रभाकर घिमिरेले बताए। प्रयोगमा आएको धावनमार्गमा अब सहजै उडान गर्न सकिने उनको भनाइ छ। विमानस्थल खुलेसँगै हवाई भाडादर पनि घटाइएको छ। तीन महिनापछि जहाज चढेर जिल्लाबाहिर र जिल्लाभित्र आवतजावत गर्ने अवसर पाएपछि डोल्पाका बासिन्दा खुसी भएका छन्।

असार १ गतेदेखि बन्द विमानस्थलको धावनमार्ग कालोपत्रे गरिएपछि जहाज अवतरण तथा उडानमा सहज भएको छ।
साथै उनीहरूले शुक्रबार विमानस्थलमै पुगेर परीक्षण उडान गर्ने चालक र कर्मचारीलाई फूलमाला तथा अबिरले स्वागत गरे। ‘अब कसैले उपचार नपाएर मर्नुपर्नेछैन, जहाजमै बिरामीलाई बाहिर लैजान पाइने भयो। सामान पनि सस्तोमा पाइने भयो, हामीलाई त अब धेरै राहत भयो’, स्थानीय बालकृष्ण डाँगीले भने, ‘विमानस्थल बन्द हुँदा स्थानीयले महँगोमा हेलिकोप्टर चार्टर गरेर जिल्ला बाहिर जानुपर्ने बाध्यता थियो।’

विभिन्न समस्या झेल्दै धावनमार्ग कालोपत्रे गर्ने काम सम्पन्न भएको प्राधिकरण नेपालगञ्जका प्रमुख तिवारीले बताए। अब विमानस्थलमा जहाज अवतरण गर्न सक्ने भएकाले डोल्पालीलाई सहज हुने उनको भनाइ छ। धावनमार्गका कारण अब जहाज कम्पनीहरूले पनि पहिलाको जस्तो सास्ती भोग्नु नपर्ने उनले बताए। डोल्पालीको समस्यालाई दृष्टिगत गरी हवाई सेवा पुनः सञ्चालन गरिएको प्राधिकरणले जानकारी दिएको छ। यद्यपि धावनमार्गको ५५ मिटर र पार्किङको केही भाग भने कालोपत्रे हुन बाँकी रहेको प्राविधिक वीरप्रसाद शाहीले बताए। अबको २० दिनभित्र विमानस्थलको बाँकी सबै काम सम्पन्न हुनेछ। तीन महिनापछि नियमित जहाज उडान सुरु भएपछि डोल्पाको एकमात्र यातायातको माध्यम खुला भएको हो।अन्नपुर्णबाट