नेपालबाट कपाल र दाह्री जुँगा बेचेर १० करोडभन्दा बढी आम्दानी

नेपालबाट वार्षिक रुपमा झण्डै १० करोड रुपैयाँको रौंनिर्यात हुँदै आएको छ। विभिन्न व्युटिपार्लर र सैलुनले काटेको कपाल, दाह्री र जुँगा संकलन गरी निर्यात गर्ने गरेको भन्सार विभागले जनाएको छ। विभागको गत वर्षको तथ्याङ्क अनुसार नेपालबाट वेल्जियम, भुटान, चीन, जापान, दक्षिण कोरिया र नेदरल्याण्डमा नौ करोड ८६ लाख ८८ हजारको रौं निर्यात भएको छ।

नेपालको आर्थिक वर्ष २०७३/७४ मा मान्छेको कपाल भुटानमा ८ लाख ८४ हजार, वेल्जियममा चार लाख ६१ हजार,चीनमा करोड ५६ लाख ६७ हजार, जापानमा दुई करोड ८४ लाख ८९ हजार, दक्षिण कोरियामा चार करोड नौ लाख चार हजार र नेदरल्याण्डमा एक करोड २२ लाख ८३ हजार रुपैयाँको निर्यात गरेको छ।

यस्तै आर्थिक वर्ष २०७२/७३ मा तीन करोड ४९ लाख ३० हजार मूल्य बराबरको निर्यात गरेको भन्सार विभागका तथ्याङ्क अधिकृत रामप्रसाद वाग्लेले बताए। सो आर्थिक वर्षमा जापानमा १२ लाख ७३ हजार, कोरियामा ४१ लाख ९७ हजार, नेदरल्याण्डमा १८ लाख ३१ हजार चीनमा एक करोड एक लाख ६४ हजार रुपैयाँको रौं निर्यात भएको थियो। नेपालबाट निर्यात हुने रौं नक्कली कपाल,दाह्री जुँगा, परेली, आँखीभौं बनाउन प्रयोग हुने गरेको वाग्लेले बताए। नेपालबाट रौं कच्चा पदार्थकोरुपमा निर्यात हुने गरेको रसुवा भन्सार कार्यालयका प्रमुख केदार पनेरुले बताए।