सिसडोलबासीले मानेनन् उपमेयरको अनुरोध

उपत्यकाको फोहोर व्यवस्थापन कठिन बन्दै गए पछि स्थानीयबासीसँग वार्ता गर्न राजधानीका दुई महानगरपालिकाका उपमेयरहरु सिसडोल ल्यान्डफिल साइट पुगेका छन् ।

उपमेयर हरिप्रभा खडगी र गीता सत्याल शुक्रबार साँझ सिसडोल पुगेका थिए । उपत्यकामा चार दिनदेखि फोहोर व्यवस्थापन हुन नसकी बाटोमै थुप्रिएर दुर्गन्धित हुन थालेपछि हतारिएर दुई उपमेयर सिसडोल पुगेका थिए ।

काठमाडौंका केही वडा अध्यक्ष, वातावरण व्यवस्थापन विभाग प्रमुख रवीनमान श्रेष्ठ, ललितपुरका फोहोर व्यवस्थापन प्रमुख लगायतको टोलीसँग दुई उपमेयर सिसडोल पुगेका हुन् ।स्थानीयबासीसँग आज (शनिबार) फोहोर व्यवस्थापन गर्न हारगुहार गरेका थिए ।

तर स्थानीयले फोहोर व्यवस्थापनलाई तीन दिनभित्र व्यवस्थित गरी आफ्ना माग पूरा गरेपछि मात्रै फोहोर व्यवस्थापन गर्न दिने जनाएका थिए । स्थानीय सुष्मा न्यौपानेले जथाभावी फ्याँकीएको फोहोर व्यवस्थित भएपछि मात्रै व्यवस्थापन गर्न दिने बताइन् ।