नापतौलका तीन कर्मचारी पाँच लाख घुससहित समातिए

सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा एक शाखा अधिकृतसहित तीन कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको छ । निजामति सेवा दिवसकै दिन बिहीबार बिहान भक्तपुरबाट उनीहरुलाई अख्तियारको टोलीले पाँच लाख घुससहित रंगे हात पक्राउ गरेको हो ।

आयोगले गुणस्तर तथा नापतौल विभागको ट्याक्सी–टेम्पो एकाईका निरीक्षक विकास धोजुसहित तीन कर्मचारीलाई रंगेहात पक्राउ गरेको हो । उनीसँगै सोही एकाईका सहायक निरीक्षकद्वय दुर्गाप्रसाद रेग्मी र ठाकुरराम खड्कालाई पनि ट्याक्सी मिटर पास गर्ने नाममा घुस लिइरहेको अवस्थामा भक्तपुरको सल्लाघारीबाट नियन्त्रणमा लिएको अख्तियार स्रोतले जानकारी दिएको छ ।

उनीहरूले ४ सय ५० ट्याक्सी मिटर पास गर्न ५ लाख रुपैयाँ घुस लिएको अख्तियारले जनाएको छ । मिटर पास गर्न विभाग कर्मचारीले ६ लाख ७५ हजार रुपैयाँ माग गरेका थिए । उनीहरूमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ । यसमा विभागका अन्य पदाधिकारी पनि संलग्न भएको हुनसक्ने आशंका अख्तियारले गरेको छ ।
Share the post “नापतौलका तीन कर्मचारी पाँच लाख घुससहित समातिए”