रुकुममा असारमा गएको पहिरो भदौसम्म पन्छाउन सकिएन, गाउँलेलाई सास्ती

रुकुमको सिस्ने गाउँपालिका कौछे भीरमा गत असारमा गएको पहिरो पन्छाउन नसक्दा सोलावाङ–धाउन्ने ग्रामीण सडकखण्ड अझै सञ्चालनमा आउन सकेको छैन । लामो समयदेखि यो सडकखण्ड अवरुद्ध हुँदा पूर्वी रुकुमका सर्वसाधारण र स्थानीयलाई गन्तव्यसम्म पुग्न समस्या भएको छ ।

असारको पहिलो साता गएको पहिरोले २ सय मिटर सडक बगाएको थियो । वर्षा सुरु भएसँगै सडकमा पहिरो खस्ने र सडक नै अबरुद्ध हुने समस्याले पैदलयात्री पनि जोखिम मोलेर हिँडडुल गर्न बाध्य छन् ।

सात वर्षअघि सञ्चालनमा आएको यो सडकखण्डको पहिरोले वर्षेनी कटान गरी विकराल रुप लिँदासमेत सम्बन्धित निकायले भने कुनै चासो नदेखाएको आरोप स्थानीयको छ ।

रुकुमका आठविसकोट, चौरजहारी, बाँफीकोट, पिपल, मुरु झुल्नेटा, झुल्खेतबजार, चाईनाबगर खण्डलगायतका ग्रामीण सडक पनि बन्द छन् । अधिकांश ग्रामीण सडक बन्द हुँदा खाद्यान्न ओसारपसार, किनमेल गर्न तथा आवतजावत गर्न कठिनाई भएको छ ।