प्रदेश नम्बर २ को निर्वाचनका लागि अाज उम्मेदवारी दर्ता

६ हजार ६ सय २७ जनप्रतिनिधि चुनिने

निर्वाचन आयोगले प्रदेश नं. २ मा हुन लागेको स्थानीय तहको निर्वाचनका लागि अाज निर्धक्कका साथ उम्मेदवारी दर्ता गराउन अनुरोध गरेको छ । मंगलबार आयोगमा पत्रकार सम्मेलनमार्फत प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरुलाई उत्साहपूर्ण रुपमा विभिन्न पदमा उम्मेदवारी दर्ता गर्न आग्रह गरेका हुन् ।

अाज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म स्थानीय तह निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ताको व्यवस्था मिलाइएको छ । उम्मेदवारी दर्तामा कसैले अवरोध गरेमा, भड्काउने काम गरेमा, बाधा व्यवधान खडा गरेका सुरक्षाकर्मीले तदारुकताका साथ निरुत्साहित गरी शान्ति सुरक्षा कायम गर्नेमा आयोगले विश्वास ब्यक्त गरेको छ ।

प्रदेश नं. २ का १ महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाँउपालिका गरी १ सय ३६ स्थानीय तहमा ६ हजार ६ सय २७ जनप्रतिनिधी निर्वाचित हुनेछन् । निर्वाचनका लागि ३१ हजार ५० सय कर्मचारी परिचालन हुने आयोगले जनाएको छ । यसका लागि ३ हजार ५ सय ७८ मतदान केन्द्र तय गरिएको पनि आयोगले जनाएको छ ।

प्रदेश नं. २ का ८ जिल्लामा हुन लागेको तेश्रो चरणको स्थानीय तहको निर्वाचनमा आयोगले ४४ वटा संस्थाका करिब २ हजारभन्दा बढी पर्यवेक्षकलाई निर्वाचन पर्यवेक्षणको अनुमति दिएको छ । यस्तै विदेशी कुटनीतिक नियोगका प्रमुखलाई जनकपुर, बर्दिबास, बीरगञ्ज र सिमरामा मतदान अवलोकन भ्रमण गराउने भएको छ ।

साथै आयोगले निर्वाचन आचारसंहिता २०७२ तथा स्थानीय तह निर्वाचन आचारसंहिता २०७३ पूर्ण रुपमा पालना गर्न र गराउन सम्बन्धित निकायलाई निर्देशन समेत दिएको छ ।