एनटिसीमा पनि ‘म्याच फिक्सिङ’ भइरहेको सञ्चारमन्त्री बस्नेतकाे दाबी

सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले नेपाल टेलिकमभित्र ‘म्याच फिक्सिङ’ भइरहेको दाबी गरेका छन्। केही वर्षअघि फुटबलमा भएजस्तै फिक्सिङ अहिले टेलिकममा भइरहेको उनको जिकिर छ।

‘टेलिकमभित्रकै केही खेलाडीले म्याच फिक्सिङ गरिरहेका छन्, यस्ता मान्छे पहिचान गर्ने काम भइरहेको छ,’ टेलिकमका ७५ वटै जिल्लाका प्राविधिकसहितको अन्तरक्रियामा बुधबार मन्त्री बस्नेतले भने। यही पारामा अघि बढ्ने हो भने टेलिकम डुब्ने उनको आशंका छ।

टेलिकममा आबद्ध केही व्यक्तिले खुलेआम अन्य प्रतिस्पर्धी सेवा प्रदायकलाई फाइदा पुग्ने गरी काम गरिरहेको आरोप मन्त्री बस्नेतले लगाए। ‘सेवा प्रदायक भने पनि एनटीसीले पनि व्यापार गरेको छ, अर्को व्यापारीले पनि व्यापार गरेको छ,’ मन्त्री बस्नेतले भने, ‘तर, हामीभित्रका केही साथी अन्य संस्थाप्रति बफादार देखिएका छन्, जसले हाम्रो व्यापार कमजोर भइरहेको छ।’