१२ वटा प्रहरी चेकपोस्ट छलेर कसरी भित्रियाे ८८ केजी सुन ?

रसुवागढी नाकादेखि काठमाडौंसम्म प्रहरीका १२ वटा चेकपोस्ट छन् । ती चेकपोस्ट सजिलै पार गर्दै बा.१७च ६४२७ नम्बर गाडीका मालिक चिनियाँ नागरिक जिया क्विङ ८८ केजी सुन काठमाडौंसम्म ल्याउन सफल भए । कतिसम्म भने सुन गाडीका पार्टपुर्जामा लुकाइएको थिएन, पछाडिको भागमा राखेर ल्याइएको थियो । उनले हरेक साताजसो चीनबाट सुन ल्याउँदै आएका थिए ।

सोमबार बिहान चालक मनोज अधिकारीलाई प्रहरीले पक्राउ गरेपछि मात्र उनको शृंखलाबद्ध सुन तस्करीको रहस्य खुलेको हो । महानगरीय अपराध महाशाखाले क्षेत्रपाटीबाट तस्करीको ८८ केजी सुन बरामद गरेको हो । सुन तस्करीका मुख्य नाइके क्वाङ भने फरार भएका छन् । एकैपटक करिब ४३ करोड रुपैयाँबराबरको सुन बरामद भएकाले यसमा राज्यका विभिन्न निकायलाई प्रभाव पार्न सफल ठूलै गिरोह संलग्न रहेको प्रहरी आशंका छ । महानगरीय प्रहरी आयुक्त एआइजी जयबहादुर चन्द मुख्य तस्करहरू खोज्न आफूहरूले पक्राउ परेका चालकलाई संगठित अपराध मुद्दामा कारबाही अघि बढाएको बताउँछन् । संगठित अपराध मुद्दामा प्रहरीले ६० दिनसम्म अभियुक्तलाई हिरासतमा राखी कारबाही गर्न सक्छ ।

समूहबीच विवादले खुल्यो राज

आइतबार दिउँसो धेरैवटा प्रहरी कार्यालयले रसुवागढीबाट ठूलो मात्रामा तस्करीको सुन बोकेको गाडी क्षेत्रपाटीमा हुने सुराकी दिएका थिए । स्रोतका अनुसार तस्करीमा संलग्न चिनियाँ गिरोहसँग विवाद भएका नेपालीहरूको अर्काे समूहले प्रहरीलाई सो सुराकी दिएको थियो ।सोही आधारमा प्रहरी टोली खटिएको थियो । महाशाखाबाट खटिएको टोलीले सुन भएको गाडी नियन्त्रणमा लिन सफल भएको हो । टाटा स्ट्रोम ब्रान्डको गाडीभित्र लुकाइएका ८८ वटा सुनका बिस्कुट प्रहरीले बरामद गरेको थियो । ‘यसबाट अनुमान लगाउन सकिन्छ भने यो तस्करीमा एक–दुईजना मात्र होइन, ठूलै गिरोह आबद्ध भएको हुनुपर्छ,’ सोमबार आयोजित पत्रकार सम्मेलनमा महाशाखाका एसएसपी दिवेश लोहनीले भने ।

सुन मालिक फरार

क्षेत्रपाटीबाट करिब तीन सय मिटर पश्चिमतर्फको सडकछेउबाट महानगरीय अपराध महाशाखाबाट डिएसपी प्रजित केसी नेतृत्वको टोलीले सो गाडी नियन्त्रणमा लिई चालक अधिकारीलाई पक्राउ गरेको हो । अधिकारीले सो सुन होटेलका मालिकको भएको भन्दै ठमेलको काठमाडौं वान होटेलमा लिएर गएका थिए । त्यहीँ केही व्यक्तिलाई नियन्त्रणमा लिए पनि प्रहरीले सोधपुछपछि छाडिदिएको थियो ।

मुख्य तस्कर चिनियाँ नागरिक भएको र उनीहरूको खोजी भइरहेको महाशाखाका एसएसपी लोहनीले बताए । चिनियाँ नागरिक जिया क्वाङले सो गाडी क्षेत्रपाटीको जेनजोन होटेलबाट ठमेलको काठमाडौं होटेलमा पुर्याउन जिम्मा दिएका थिए । त्यसैका लागि चालक अधिकारी बिहान साढे २ बजे त्यहाँ पुगेका थिए । गाडी कुरेर बसेको वेला प्रहरीले उनलाई पक्राउ गरेको हो ।

बिहान ३ बजे सुन बरामद गरेकोमा प्रहरीले ९ बजे मात्र सार्वजनिक गरेको थियो । जसकारण सुन तस्कर भाग्न सफल भएका हुन् । सुन तस्करीमा होटेल वानका सञ्चालक रहेका चिनियाँ दम्पतीसमेत संलग्न रहेको गाडी चालक अधिकारीले प्रहरीलाई बताएका छन् । सो गिरोहमा काठमाडौंका सुन पसले तथा भारतीय व्यापारीहरूसमेत संलग्न रहेको प्रहरी आशंका छ । स्रोतका अुनसार सो समूहले ठमेलमा ठूलो मात्रा अवैध डलरको कारोबारसमेत गर्दै आएको छ ।

तस्करीका नाइकेको दुईवटा होटेल

तस्करीका नाइके चिनियाँ नागरिक जिया क्विङ नै भएको प्रहरीको ठहर छ । उनकी श्रीमती जेन सुहुई र बाबु जान ग्वा पनि नेपालमै बस्दै आएका छन् । सुन बरामद भएपछि तीनैजना फरार भएका छन् । आइतबार बेलुका उनीहरू र्याडिसन होटेलमा बसेका थिए । उनीहरूको काठमाडौंमा दुईवटा होटेल छ । क्षेत्रपाटीमा रहेको जिनजोङ होटेल श्रीमतीको नाममा छ । त्यस्तै, काठमाडौं वान होटेल भने अर्काे व्यक्तिलाई जिम्मा दिएर चलाउँदै आएका छन् । बिजनेस भिसामा नेपालमा बसेर उनीहरूले सुन तस्करी गर्दै आएको प्रहरी स्रोत बताउँछ । हरेक साता केरुङ जाने गाडी उनी आफैँले चलाउने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

४३ करोडको सुन, प्रहरीलाई १० लाख कमिसन

करिब ४३ करोड रुपैयाँको सुन बरामद गरे पनि प्रहरीले कमिसन भने १० लाख रुपैयाँ मात्र पाउँछन् । विगतमा प्रहरीले बरामद सामानको २५ प्रतिशतसम्म कमिसन पाउने प्रावधान थियो । दुई वर्षअघि अर्थ मन्त्रालयले सुराकीसम्बन्धी प्रावधान परिवर्तन गरी बरामद सामानको १० प्रतिशत कमिसन दिने निर्णय गरेको थियो । सुराकीले पनि बढीमा १० लाख रुपैयाँसम्म मात्र कसिमन पाउने भन्सार कार्यालय एयरपोर्टका प्रमुख नारायण सापकोटाले बताए । प्रहरीले पटक–पटक सुन बरामद गरेपछि प्रहरीलाई निष्क्रिय बनाउन एक समूहले त्यससम्बन्धी प्रावधान नै हेरफेर गरी कमिसन घटाउन दबाब दिएको थियो । सोहीअनुसार कसिमन घटाइएको स्रोत बताउँछ ।

‘यस्तो सुराकीमा एकदमै खतरा हुन्छ,’ एक प्रहरी अधिकारी भन्छन्, ‘सानोतिनो पैसाका लागि मान्छेले सुराकी गर्दैनन्, जसकारण तस्करलाई फाइदा भइरहेको छ ।’ सिआइबीले चार वर्षअघि बरामद गरेको ३५ किलो सुनको सुराकीको कमिसनमा विवाद भएको भन्दै कमिसन घटाइएको थियो । अर्थ मन्त्रालयले परिपत्रमार्फत कमिसन घटाएको हो ।

सयपटक तस्करी हुन्छ, एकपटक समातिन्छ

सिआइबीले गत बुधबार २१ किलो सुनसहित सातजनालाई पक्राउ गरेको थियो । सिन्धुपाल्चोकका पेम्बादोर्जे शेर्पासहित सातजनाले केरुङ नाकाबाटै २१ किलो सुन ल्याएका थिए । जसमध्ये सात केजी बिक्री गरिसकेका थिए । त्यसअघि पनि आफूले एकपटक रसुवागढी नाकाबाट सुन ल्याएको उनले बताएका छन् । तीन साताअघि नुवाकोटमा आठ किलो सुन बरामद भएको थियो । तीन सातामै एक सय २० किलो सुन तस्करी भएको प्रहरीको अनुसन्धानबाट प्रस्ट हु्न्छ ।

तस्करहरूबीच नै विवाद हु“दा मात्र प्रहरीले सुराकी पाएर सुन बरामद गर्ने गरेको छ । ‘प्रहरीले बरामद गर्ने भनेको बढीमा १० प्रतिशत हो,’ एक प्रहरी अधिकारी भन्छन्, ‘अहिलेको ट्रेन्ड हेर्दा दैनिक ठूलो परिमाणमा रसुवागढी नाकाबाट सुन भित्रिएको अनुमान लगाउँदा गाह्रो हुँदैन ।

यसका साथै विमानस्थलबाट समेत पटक–पटक सुन तस्करी हुँदै आएको छ । एक किलो सुन तस्करीबाट ल्याउँदा करिब पाँच लाख नाफा हुन्छ । एक किलो सुनमा भन्सार शुल्क चार लाख ५० हजार रुपैयाँ छ । त्यसबाहेक हुन्डी र डलरको कारोबार पनि त्यसैबाट मिलाइने भएकाले थप नाफा हुने गरेको हो ।

देशभरिका सुन पसलमा तस्करीको सुन

ठूलो परिमाणमा आएको सुन धेरैजसो भारत जाने गरेको छ । सिआइबीले गत साता पक्राउ गरेकोमध्ये केही सुन भारत पुगिसकेको खुलेको थियो । भारतमा पनि सरकारले सुन आयातमा कडाइ गरेकाले नेपालबाट तस्करी हुने गरेको थियो । यस्तो तस्करीमा तीन देशका गिरोह सक्रिय रहेको सिआइबीका निर्देशक डिआइजी पुष्कर कार्की बताउँछन् ।

सुन तस्करीमा चिनियाँ, नेपाली र भारतीय नागरिक संलग्न रहेको प्रहरीको भनाइ छ । जसमा नेपालमै सुन पसल सञ्चालन गर्ने व्यवसायीसमेत आबद्ध छन् । तस्करीको केही सुन नेपालकै सुन पसलमा समेत जाने गरेको सूचना आफूहरूले पाएको डिआइजी कार्की बताउँछन् । बैंकबाट किन्न समस्या रहेको र तस्करीको सुन सस्तो पनि भएकाले देशभरिका सुन पसलमा तस्करीको सुन पुग्ने गरेको छ । गत पुसमा प्रहरीले बरामद गरेको साढे ३३ किलो सुन तस्करीमा काठमाडौंका ठूला सुन पसलको संलग्नता देखिएको थियो ।

प्रहरीका ठूला सुन अप्रेसन

१. ८८ केजी

१९ भदौ २०७४ मा महानगरीय अपराध महाशाखाद्वारा काठमाडौं क्षेत्रपाटीबाट ८८ केजीसहित एकजना पक्राउ ।

२. ३५ केजी
२५ असार २०७० मा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले ३५ किलो सुन कोटेश्वरमा बरामद । सुनसहित गाडी चालक निमाछिरिङ तामाङ र सुनका मालिकद्वय मोहन अग्रवाल र ग्याम्जो लामा पक्राउ ।

३. ३३ केजी

२० पुस २०७३ मा सिआइबीले विमानस्थलबाटै तस्करीको ३३ किलो ५७७ ग्राम सुन बरामद गर्यो । जसमा प्रहरीकै एसएसपी तथा भन्सार कर्मचारीसमेत पक्राउ ।

४. २३ केजी

२९ मंसिर २०७१ मा भक्तपुरको जगातीमा २३ केजी सुनसहित कन्टेनर चालक बुद्धिबहादुर श्रेष्ठ पक्राउ ।

५. १८ केजी

१७ वैशाख २०७३ मा तातोपानी नाका हुँदै तस्करी गरेर ल्याइएको १८ केजी सुनसहित सिन्धुपाल्चोकको बाह्रबिसेमा तीनजना पक्राउ । नयाँ पत्रिकामा खबर छ ।