काठमाडौंको क्षेत्रपाटीबाट ८८ किलो सुन बरामद

काठमाडौंको क्षेत्रपाटीबाट अवैध रुपमा ल्याइएको ८८ किलो सुन प्रहरीले बरामद गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले ८८ किलो सुनसहित गाडी र चालकलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी आयुक्त जयबहादुर चन्दले जानकारी दिए ।

प्रहरीले दिएको जानकारीअनुसार उक्त सुन चिनियाँ नागरिकको भएको बताइएपनि पुष्टि भने हुन सकेको छैन । राति दुई बजेतिर प्रहरीले उक्त सुनसहितको गाडी पक्राउ गरेको हो । बा १७ च ६४२७ नम्बरको टाटा सफारीमा लुकाइ राखिएको सुन बरामद गरिएको प्रहरीले जनाएको छ ।

चालक मकवानपुरका मनोज अधिकारी भएको प्रहरीले जानकारी दिएको छ । चालक, सुन र गाडीलाई पक्राउ गरी टेकुमा राखिएको चन्दले जानकारी दिए । भन्सार छली गरेर ल्याइएको सुनमध्ये यसरी पक्राउ गरिएको यो सबैभन्दा धेरै हो । यसअघि अघिल्लो सातामात्रै १५ किलो सुनसहित पक्राउ गरेको थियो भने गतवर्ष २२ किलो सुनसहित पक्राउ परेका थिए ।