संसदमा एमाले नेता रावलको यस्ताे आपत्ति

व्यवस्थापिका–संसदको सोमबारको बैठक सुरु हुनेबित्तिकै समय माग गरी नेकपा एमालेका सांसद भीमबहादुर रावलले प्रधानमन्त्री शेरबहादुर देउवाले हालै आफ्नो भारत भ्रमणकाक्रममा संविधान संशोधन सम्बन्धमा दिएको वक्तव्यप्रति आपत्ति जनाए ।

उनले राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनसम्बन्धी प्रस्तावित विधेयककाबारेमा सदनसमक्ष प्रमले जानकारी दिन माग गर्दै निर्वाचन घोषणा भइसकेको अवस्थामा कर्मचारी सरुवा–बढुवा गरेकामा विरोध जनाए ।

नेकपा एमालेका उपाध्यक्षसमेत रहेका रावलले लोकतन्त्रको मूल्य मान्यताविपरीत सरकारले गृह प्रशासन सन्चालन गरेको आरोप लगाउँदै ‘लोकतन्त्र स्वेच्छाचारीरुपमा चल्न सक्दैन, विधि–नियमबाट सन्चालन गर्नुपर्छ’–भने । यसपछि सभामुख ओनसरी घर्तीले यसकाबारेमा के भएको हो जानकारी गराउन सरकारको ध्यानाकर्षण गराइन् ।