प्रहरीको दर्जनाैँ धराप छल्दै यसरी भित्रियो ८८ किलो सुन काठमाडौं
गाडीको अगाडिको नम्बर प्लेट भन्दा थोरै माथि सुनौलो रंगको सुन्दर बुट्टादार लोगोको बीचमा कालो प्लेटमा अंग्रेजी र चिनियाँ अक्षरमा ‘भीआईपी’ लेखेको गाडी। त्यो ‘भीआईपी’ गाडी सोमबार बिहान साढे १० बजे अपराध अनुसन्धान महाशाखा, टेकुमा वरपर ‘सावधान!’ लेखिएको फिताको बीचमा राखिएको थियो। ‘भीआईपी’ लेखेको गाडीलाई सुरक्षा दिनका लागि अपराध अनुसन्धान महाशाखामा राखिएको थिएन बरु त्यसाई छ-सात जना हातमा पेचकस र हथौडा समातेका मान्छेले खोलिरहेका थिए। गाडी नयाँ देखिन्थ्यो, तैपनि उनीहरु एकएक किलालाई पेचकसले घुमाइरहेका थिए। त्यसरी ‘भीआईपी’ गाडीका पाटपूर्जा खोल्नुको कारण थियो गाडी सुन तस्करीमा प्रयोग हुनु।
यसरी भित्रियाे सुन काठमाडाैँ
अन्तत चीनसँगको केरुङ नाका हुँदै काठमाडौंसम्म आइपुगेको ८८ किलो अवैध सुन सोमबार बिहान प्रहरीले गोप्य सूचनाको आधारमा राजधानीको क्षत्रपाटीबाट समात्यो । तर, उक्त सुनलाई तस्करले सुरक्षा निकायका दर्जन बढी चेकपोष्ट पार गर्दै काठमाडौं भित्र्याउन सफल भए । सुन केरुङबाट नुवाकोट–धादिङ रुटको सडकमार्ग हुँदै नागढुंगाबाट काठमाडौं भित्र्याएको अनुमान गरिएको एक प्रहरी अधिकारीले बताए ।
केरुङ–त्रिशूली–गल्छी (धादिङ) हुँदै काठमाडौं आउने रुटमा डेढ दर्जन सुरक्षा निकायका चेकपोस्ट रहेका छन् । तरपनि, सुन सबै चेकपोस्ट पार गर्दै काठमाडौं भित्रिन सफल भएको हो । रसुवामा सरुवागढीस्थित गढी पुलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचाल गरिएको छ भने सो नजिकै पर्ने टिमुरे भन्सार यार्डमा सशस्त्र र आर्मीको चेकपोस्ट रहेको छ । यस्तै टिमुरेमा प्रहरीको अर्को चेकपोस्ट पनि रहेको छ । जहाँ नेपाल प्रहरीको इन्सपेक्टरको कमान्डमा प्रहरी खटिएका हुन्छ ।
यस्तै रसुवाकै स्याफुबेसीमा नेपाल प्रहरी, धुन्चेको तल्लो भागमा र शिव मन्दीर नजिकै सशस्त्रको चेकपोस्ट रहेको छ भने धुन्चे गेटमा नेपाल प्रहरी, लाङटाङ राष्ट्रिय निकुञ्जस्थित ग्राबलमा नेपाल आर्मीको चेकपोस्ट रहेको छ । यसैगरी कालिकास्थानमा आर्मीको अर्को चेकपोस्ट पनि रहेको छ । यस्तै कालिकास्थल नजिकै इकाका प्रहरी कार्यालय कालिकास्थान रहेको छ भने नुवाकोट सरुवाको सीमा क्षेत्र बेत्रावतीमा प्रहरी चौकी रहेको छ ।
नुवाकोटमा सिमलटार, बिदुर बजार, देबीघाट र तारुकामा पनि प्रहरी चेकपोस्ट रहेको छ । यस्तै धादिङको गल्छी हुँदै काठमाडौंको नागढुंगासम्म आइपुग्दा गल्छी, सिम्ले, धार्के र खानीखोलामा चेकपोस्ट रहेको छ भने काठमाडौंमा नागढुंगा र थाङकोटमा मुख्य चेकपोस्ट रहेको छ ।
गल्छी–त्रिशूली रुट नभई पासाङल्हामु मार्गहुँदै सो सुन तस्करले काठमाडौं भित्र्याएको भए पनि तादी, पैतीस किलो, ओखरपौवा, ककनीलगायतका स्थानमा प्रहरी मुख्य पोस्ट रहेको छ भने टोखा छहरे मार्ग रोजेको भएपनि छहरे र ढिकुरेमा मुख्य चेकपोस्ट रहेका छन् । तर, प्रहरीले गल्छी–त्रिशूली हुँदै थाङकोट नाकाबाट भित्रिएको बताएकाले सबैभन्दा बढी चेकपोस्ट पार गर्दै सुरक्षित रुपमा काठमाडौं आइपुगेको देखिन्छ ।
काठमाडौंबाट पर्याे फन्दामा
महानगरीय अपराध महाशाखालाई तीन दिन अघि विशेष स्रोत मार्फत सुन तस्करीको विषयमा केहि सुचना प्रवाह भएको थियो । सोही सूचनाका आधारमा अपराध महाशाखाले शंकास्पद गतिविधिमा निगरानी बढाएको थियो । सोही सुचनालाई फलो गर्दै जाँदा प्रहरीले ईतिहासकै सर्वाधिक परिणामको सुन बरामद गर्न सफल भयो ।
प्रहरीको स्रोतले सुन राजधानी भित्रिएको जानकारी दिएपछि अपराध महाशाखाले आफ्नो गतिविधि थप बढाउदै गयो । प्रहरीले आयात गरिएको सुन क्षेत्रपाटीमा रहेको सुइंको पायो । लक्षित स्थानमा पुगेको प्रहरी टोलीले बा.१७ च ६४२७ नम्बरको सडकमा पार्कीङ गरेको गाडीलाई कब्जामा लिएर खानतलासी शुरु गर्यो । खानतलासीबाट अवैध रुपमा भित्रीएको ८८ केजी सुन बरामद गर्न सफल प्रहरी सफल रह्रयो । चीनबाट अवैध रुपमा ल्याइएको सुनलाई तस्करहरुले केरुङ सीमा नाका प्रयोग गर्ने क्रमलाई बढाएको देखिन्छ । गत साता अपराध अनुसन्धान व्युरोले बरामद गरेको १५ केजी अवैध सुन पनि सोहि नाका हुंदै तस्करहरुले भित्रयाएका थिए । चिनियाँ नागरिकसँगको मिलेमतोमा नेपाली तस्करहरुले सुन भित्र्याउने गरेको प्रहरीको भनाई छ । यसअघि चीनबाट सुन भित्र्याउन तस्करहरुले तातोपानी नाका प्रयोग गर्थे ।
कहाँ जान्छ यत्राे अवैध सुन ?
प्रहरीको पछिल्लो अनुसन्धानले सुन गिरोहमा नेपाली तस्करका साथै चिनियाँ र बिदेशी नागरिकहरु पनि पनि संम्लग्न भएको देखाएको छ । भाद्र १४ मा प्रहरीले बरामद गरेको सुन तस्करीमा सिन्धुपाल्चोकका ग्याल्बु लामाको कोठाबाट १४ केजी सुन भेटिएको थियो भने दुई केजी भारत पुगेको प्रहरी अनुसन्धानबाट खुलेको थियो । उक्त घटनाबाट प्रहरीले सुन तस्करीमा अन्तराष्ट्रिय गिरोह पनि संलग्न रहेको निक्र्यौल गरेको हो । सोमबार बरामद गरिएको सुनलाई तस्करहरुले पु–याउदै गरेको स्थानबारे प्रहरीले थप अनुसन्धान गर्दै गरेको अपराध महाशाखाका एसएसपी दिवेश लोहनीले जानकारी गराए ।
भरिया पक्राउ ,मुख्य नाइके फरार
प्रहरीले तस्करीबाट बरामद गरेको यसपटकको सुन परिणाम सर्वाधिक मुल्यको छ । तर सुन तस्करीमा संलग्न मुख्य नाईकेलाई पक्रने प्रयास सफल यसपटक पनि हुनसकेन । ८८ केजी सुन सहित प्रहरीले गाडी चालक मकवानपुरका मनोज अधिकारीलाई पक्रन सफल भयो तर नाइके फरार छन् ।
आजको बजार मूल्य अनुसार ४३ करोड १८ लाख ८ हजार ६७९ रुपयाँ रहेको सुन तस्करकीका मुख्य नाईके केहि समयमा पक्राउ पर्नेमा लोहनी आशावादी देखिए । सुन तस्करीको जालो र तस्करका ग्राहक अनुसन्धानबाट खुल्ने उनले बताए ।
जालो पहिल्याउदै प्रहरी
एकतिर प्रहरी सुन तस्कर भीआईपीको खोजिमा जुटेको छ भने अर्कोतिर यो सुन तस्करीको ‘नेक्सस’, अर्थात् जालो पहिल्याउने अनुसन्धानमा लागेको दावी गरिरहेको छ। यो घटनासँग पुराना सुन तस्करीको नेक्सस छ कि छैन भन्नेबारे पनि खोजी गरिरहेको लोहनीले बताए। उनले भने, ‘हामी त्यसको नेक्ससहरु पहिल्याइरहेका छौं।
योभन्दा अगाडि कहाँबाट आएको हो र कहाँ जादैछ भन्नेबारे खोज्न अनुसन्धान थालिसकेका छौं।’ भदौ १५ गते मात्र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले २२ किलो सुन तस्करीका नाइके पेम्बा दोर्जे शेर्पा लगायत सात जना १४ किलो सुनसहित पक्राउ गरेको थियो। जसको जालो चीन र भारतसँग जोडिएको थियो।