मनोनयन दर्ता गर्ने दिन नजिकिँदै दलहरूले उम्मेदवार टुंगो लगाउन सकेनन्

प्रमुख दलहरूलाई प्रदेश नं. २ मा उम्मेदवार छान्न सकस

कांग्रेसमा आकांक्षी धेरै भएपछि उम्मेदवार छनोटमा किचलो

आकांक्षी धेरै भएपछि कांग्रेसलाई उम्मेदवारको टुंगो लगाउन सकस परेको छ । एक साताभन्दा बढी समय उम्मेदवार छान्न केन्द्रीय कार्यालय रोजेको कांग्रेसले नेता–कार्यकर्ताको भिड र दबाबपछि ठाउँ सार्दै छलफल गरिहरेको छ । तर, शनिबार रातिसम्म पनि उम्मेदवार चयन गर्न सकेको छैन ।

बुधबार र बिहीबार महामन्त्री डा. शशांक कोइरालाको टोखास्थित निवासमा उनीसहित नेता विमलेन्द्र निधि, केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेल र सचिव प्रेम केसी उम्मेदवार चयनबारे छलफलमा जुटेका थिए । जसमध्ये आठ जिल्लाबाट कम विवाद भएर आएका केही उम्मेदवारी टुंगो लागेको थियो । तर, क्षेत्रीय समिति र जिल्ला कार्यसमितिबाट छुट्टाछुट्टै सूची आएपछि ती ठाउँको उम्मेदवारी मिलाउन समस्या परेको छ ।

प्रदेश नं. २ का १२ केन्द्रीय सदस्यलाई छलफलमा सहभागी नगराइएपछि उनीहरू असन्तुष्ट बने ।‘उम्मेदवारी समयमा नटुंगिँदा नेता–कार्यकर्ताको दबाब चर्को रूपमा परिरहेको छ । मान्छेको भिड धेरै लाग्ने, विवाद मतान्तर हुँदा, नेताको दबाब आउने हुँदा ठाउँ सर्दै बैठक गर्दै आउने काम भएको छ,’ एक केन्द्रीय सदस्यले भने, ‘दिउँसो बसेको ठाउँमा पनि नेता–कार्यकर्ताले सुइँको पाएपछि शुक्रबार राति फेरि केन्द्रीय कार्यालयमा छलफल गर्यौँ ।’ केन्द्रीय सदस्यहरूले आफूहरूलाई छलफलमै नराखी उम्मेदवार टुंग्याउन खोजेको भन्दै शुक्रबारको छलफलमा असन्तुष्टि राखेपछि उनीहरूलाई समेत सहभागी गराएर छलफल गराइएको स्रोत बताउँछ ।

झम्सीखेलस्थित रेस्टुरेन्टमा बिहानको खानापछि दिनभर छलफल गरी बेलुका अर्कै ठाउँमा बस्नेगरी नेताहरूलाई खाना खाएर आउन भनिएको थियो । ‘बिहानको खाना रेस्टुरेन्टमै खायौँ । बेलुकाको खाना सबैले आफैँले खाएर आएपछि पुनः छलफलमा जुट्यौँ,’ कांग्रेसका एक नेताले भने । केन्द्रीय कार्यालयमा सुरुमा उम्मेदवार टुंग्याउँदा प्रदेश नं. २ का १४ केन्द्रीय सदस्य र महामन्त्री डा. शशांक कोइराला, आठ जिल्लाका कांग्रेस सभापति, सो क्षेत्रका सांसद, क्षेत्रीय सभापतिसहितको बैठक बसेको थियो । तर, सो बैठकले उम्मेदवार टुंग्याउन नसकेपछि कोइराला र निधिबीच छुट्टै छलफल भएको थियो ।

उम्मेदवार छनोटमा सहभागी नगराएपछि पौडेल युएईतिर

पहिलो र दोस्रो चरणको निर्वाचनमा कांग्रेस शीर्ष नेतृत्वले उम्मेदवारी टुंग्याएको थियो । तर, प्रदेश नं. २ मा शीर्ष नेताहरू रामचन्द्र पौडेल, कृष्ण सिटौला, खुमबहादुर खड्कासहितका नेतालाई सहभागी गराइएको छैन । उम्मेदवार छान्न सहभागी नगराइएपछि नेता पौडेल बिहीबार राति युएई पुगेका थिए । नेपाल प्रेस युनियनको कार्यक्रममा भाग लिन युएई गएका पौडेल शनिबार फर्किएका छन् ।

के–केमा विवाद ?

उम्मेदवार चयन गर्दा कसलाई प्राथमिकता दिने भन्नेमै नेताहरू अड्किएका छन् । ‘उम्मेदवार बन्नेहरू १९–२० को हुनुहुन्छ,’ एक केन्द्रीय सदस्य भन्छन्, ‘कसलाई उम्मेदवार बनाउने भन्नेमा नेताहरूबीच राय बाझिएका छन् । त्यसैले ढिलाइ भइरहेको छ ।’ जिल्ला सभापति, क्षेत्रीय सभापतिहरूबाट केही तहमा छुट्टाछुट्टै उम्मेदवारको सूची आउने, केहीमा गुटगत रूपमा उम्मेदवार बनाउन नेताहरूबीच राय बाझिएपछि कांग्रेसलाई उम्मेदवार टुंग्याउन सकस परेको हो । यसअघि कांग्रेसले साउनभित्रै उम्मेदवार टुंग्याएर चुनाव प्रचारमा निस्कने बताएको थियो । तर, मनोनयन दर्ताको चार दिन बाँकी हुँदासम्म पनि कांग्रेसले उम्मेदवारको टुंगो लगाउन सकेको छैन । नेताहरू आफैँले उम्मेदवार टुंगो लागिसक्यो भने पनि त्यहाँ अझै विवाद देखिएको छ ।

यी ठाउँमा लगभग टुंगिए

महोत्तरीका १५, सर्लाहीका २०, सप्तरीका १८ र सिरहाका १८ गरी ७१ मध्ये अब ११ स्थानीय तहमा मात्र समस्या रहेको केन्द्रीय सदस्य कल्याण गुरुङले जानकारी दिए । रौतहट, पर्सा, बारा, धनुषाको अन्तिम टुंगो शनिबार रातभर लगाउने गरी नेताहरू छलफलमा जुटेका छन् । वीरगन्ज महानगरपालिका, जनकपुर उपमहानगरपालिकासहितका केही नगरपालिका र गाउँपालिकामा भने कांग्रेसले उम्मेदवारको टुंगो लगाइसकेको छ ।

एमालेले टुंग्यायो महानगर र दुई उपमहानगरका उम्मेदवार

शुरोजंग पाण्डे/एमालेले प्रदेश नं. २ का एक महानगर र दुई उपमहानगरमा मेयर र उपमेयरका उम्मेदवार टुंगो लगाएको छ । पार्टी कार्यालय धुम्बाराहीमा शनिबार बसेको स्थायी समिति बैठकले वीरगन्ज महानगरपालिका, जितपुर–सिमरा र कलैया उपमहानगरपालिकामा मेयर र उपमेयरका उम्मेदवार टुंगो लगाएको हो ।

धनुषा र रौतहटका केही स्थानमा अझै बाँकी

धनुषा र रौतहटका केही स्थानीय तहमा अझै उम्मेदवार टुंगो लाग्न बाँकी रहेको प्रदेश नं. २ संगठन कमिटीका संयोजक सत्यनारायण मण्डलले बताए । धनुषाको केही नगर र गाउँपालिकाको उम्मेदवारबारे आइतबारको स्थायी समितिमा छलफल हुने उनको भनाइ छ । नेताहरू शत्रुधन महतो र श्रीप्रसाद साहले एउटा र रघुवीर महासेठले अर्को उम्मेदवारको पक्षमा लविङ गरेका कारण धनुषामा केही विवाद देखिँदै आएको छ । त्यस्तै, रौतहटको चन्द्रपुर र फतुवा विजयपुरमा पनि उम्मेदवार टुंगो लाग्न बाँकी छ । एमालेले सबै टुंगिएपछि मात्रै उम्मेदवारको सूची सार्वजनिक गर्ने तयारी गरेको छ ।

जिल्ला फर्किन ओलीको निर्देशन

एमाले अध्यक्ष केपी ओली, नेता माधवकुमार नेपाल र महासचिव ईश्वर पोखरेलले २ असोजको चुनावी प्रचारका लागि जिल्ला फर्किन नेता–कार्यकर्तालाई निर्देशन दिएका छन् । पार्टी कार्यालयमा आयोजित भेलामा उनीहरूले सामूहिक निर्देशन दिएका हुन् । सम्पर्क मञ्चमा आबद्ध अनिवार्य रूपमा जिल्ला फर्किएर पार्टीका उम्मेदवारलाई जिताउन सामूहिक निर्देशन दिँदै उनीहरूले कार्यकर्ताको बलमा मात्रै २ नम्बर प्रदेशमा पार्टी पहिलो हुने बताए ।

वीरगन्ज महानगरमा बसरुद्दिन अन्सारी

एमालेले वीरगन्ज महानगरको मेयरमा बसरुद्दिन अन्सारी र उपमेयरमा सोफिया आचार्यलाई उठाउने निर्णय गरेको छ । शनिबारको स्थायी समिति बैठकले उनीहरूको नाम अनुमोदन गरेको हो । त्यस्तै, जितपुर–सिमरा उपमहानगरपालिकाको मेयरमा डा. कृष्ण पौडेल र उपमेयरमा सरस्वती चौधरी तथा कलैया उपमहानगरपालिकाको मेयरमा विनोद साह र उपमेयरमा प्रतिमा यादवलाई उठाउने निर्णय गरेको छ ।

जनकपुर उपमहानगरपालिकाको उम्मेदवार भने आइतबारको बैठकले टुंगो लगाउने सचिव पृथ्वीसुब्बा गुरुङले बताए । बाँकी उम्मेदवारको टुंगो र चुनावी रणनीति तय गर्न आइतबार पुनः बैठक बस्ने उनको भनाइ छ । जनकपुर उपमहानगरको मेयरमा दीपेन्द्र यादव तथा लक्ष्मीनारायण भगत र पुनम मिश्रलाई उपमेयरका रूपमा प्रदेश संगठन कमिटीले सिफारिस गरेको छ ।

धेरै विवाद भएपछि माओवादीले उम्मेदवार टुंग्याउन सकेन

सुरेश बिडारी/माओवादीले केन्द्रले शनिबार पनि प्रदेश नं. २ मा उम्मेदवार टुंगो लगाउन सकेन । उम्मेदवारका आकांक्षी धेरै भएपछि तालमेलका विषयमा कुरा नमिल्दा उम्मेदवार घोषणामा माओवादीले ढिलाइ गरेको हो । माओवादी केन्द्रको सचिवालय बैठकपछि प्रदेश नं. २ का १३६ तहमा उठ्ने उम्मेदवारको टुंगो लगाउने भनिएको थियो ।

माओवादीमा सिरहाको गोलबन्द नगरपालिका र महोत्तरीको बर्दिबास नगरपालिकामा विवाद छ । गोलबन्द नगरपालिकामा जगत यादव र देवनारायण साहमध्ये कसलाई टिकट दिने भन्ने विषय टुंगो लाग्न सकेको छैन । बर्दिबास नगरपालिका मेयरमा राजु खड्का र विदुर कार्कीबीच विवाद छ । माओवादीले करिब ३० तहमा तालमेल गर्ने तयारी गरेको छ । त्यसमा कांग्रेस, राजपा र संघीय समाजवादीसँग तालमेल गर्ने माओवादीले योजना बनाएको छ । मधेसका धेरैजसो तहमा कांग्रेस बलियो भएकाले तालमेल गर्न आलटाल गर्दै आएको माओवादी बुझाइ छ ।

प्रदेश नं. २ मा ठूलो पार्टी बनाउने प्रचण्डको उद्घोष

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले प्रदेश नं. २ मा पार्टीलाई १ नम्बरको बनाउने बताएका छन् । वीरगन्जमा बसेको सचिवालय बैठकको निर्णय सार्वजनिक गर्न शनिबार साँझ आयोजित पत्रकार सम्मेलनमा उनले प्रदेश नं. २ मा पहिलो पार्टी बनाउन सबै नेता–कार्यकर्ता मिलेर अघि बढ्ने बताए । ‘पहिलो पार्टी बन्ने सम्भावना छ भनेर उत्साहका साथ सचिवालय कमिटीले निर्णय गरेर जिम्मेवारी बाँडफाँड गरेको उनको भनाइ छ । ‘सर्लाहीमा अस्ति रामेश्वर राय यादवको नेतृत्वमा सयौँ माओवादी केन्द्रमा प्रवेश गरेका छन्, रौतहटमा कांग्रेस, एमाले र राजपा परित्याग गरेर हाम्रो पार्टीमा आएका छन् । वीरगन्जमा पनि पार्टी प्रवेश कार्यक्रम हुँदै छ, यस्तै उत्साह प्रदेश नं. २ का आठै जिल्लामा देखिएको छ,’ प्रचण्डले भने ।

मधेसी जनताको अधिकारका निम्ति माओवादी केन्द्रले सधैँ स्पष्ट दृष्टिकोण लिएर हिँडेको दाबी उनले गरे । मधेस, पहाड र हिमाललाई जोडिराख्न, मधेस र पहडाको श्रमजीवी जनताको एकतालाई दरिलो बनाउन परिवर्तनकारी शक्तिलाई जिताउनुपर्नेमा उनले जोड दिए । चुनावमा परिवर्तनकारीको राम्रो मत आएमा निर्वाचनपछि संविधान संशोधन गर्न सकिने दाबी उनको छ ।

म प्रधानमन्त्री हुँदा मधेसका विषयमा धेरै निर्णय : प्रचण्ड

प्रदेश नं. २ मा निर्वाचन गराउन संविधान संशोधनको प्रयास गरेको, सहिद घोषणा, मृतकका परिवारलाई क्षतिपूर्ति र घाइतेको उपचार खर्चको व्यवस्थालगायत निर्णय आफू प्रधानमन्त्री भएका वेला भएको भन्दै मधेसी जनताले बुझिसकेको दाबी उनले गरे । ‘संविधान संशोधन विधेयक पारित हुने भयो भनेर विश्वस्त भएर संसद् बैठकमा गएँ, चार सय एकजनाको लिस्ट मेरो हातमा थियो, तर राप्रपाका १० जना सांसद बाटैबाट हराइदिएपछि पारित नहुने भयो,’ उनले भने, ‘संशोधन पारित हुन ३९७ जना चाहिन्थ्यो, चारजना बढी लिएर जाँदा पनि हुन सकेन ।’

बाढी प्रभावित जिल्लालाई संकटग्रस्त घोषणा गर्ने

बाढीबाट क्षति भएको क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गर्ने र प्राधिकरण गठन गरेर पुनर्निर्माण प्राधिकरण गठन गर्ने दुई विकल्प रहेको प्रचण्डले बताए । ‘रौतहटको गौरमा पुगेर बाढी प्रभावित क्षेत्रको अवलोकन गरंँ, त्यहाँको भयावह अवस्था देखेर स्थानीयलाई मैले सरकारसँग कुरा गरेर संकटग्रस्त घोषणा गराउँछु भनेको छु । प्राधिकरण बनाउने कि संकटग्रस्त क्षेत्र घोषणा गरेर विशेष प्याकेज लिएर जाने भन्ने कुरा आएको छ । प्राधिकरण बनाए वा संकटग्रस्त क्षेत्र जे बनाए पनि मधेसी जनताका लागि हुनैपर्छ भन्ने हाम्रो अडान छ,’ उनले भने ।

निर्वाचनमा तालमेल हुन्छ

प्रचण्डले प्रदेश नं. २ मा अन्य दलसँग चुनावी तालमेल हुन सक्ने जानकारी दिए । उनले परिवर्तनकारी शक्तिसँग तालमेल गरेर चुनावमा जान सकिने बताए । ‘संघीयताविरोधी र गणतन्त्रविरोधीसँग तालमेल नगर्ने निर्णय लिएका छौँ, त्यस आधारमा कांग्रेस, एमाले, मधेसी दल जो–कसैसँग तालमेल हुन सक्ने भयो,’ उनले भने, ‘राजपा, संघीय समाजवादी फोरम र लोकतान्त्रिक फोरमसँग चुनावी तालमेल हुनुपर्छ भनेर निर्णय गरेका छौँ ।’

एकतामा आएका नेता–कार्यकर्तालाई जिम्मेवारी दिन कार्यदल गठन

माओवादी केन्द्रसँग एकतामा आएका विभिन्न पार्टीका नेता–कार्यकर्ताको जिम्मेवारी बाँडफाँडका लागि एक कार्यदल गठन गरिएको छ । माओवादी हेडक्वार्टर विघटनपछिको पहिलो केन्द्रीय सचिवालय बैठकले नेता वर्षमान पुनको संयोजकत्वमा ६ सदस्यीय एकता संगठन समायोजन कार्यदल गठन गरेको प्रदेश नं. २ संयोजक विश्वनाथ साहले बताए । कार्यदलमा पुनसहित देवेन्द्र पौडेल, रामचन्द्र झा, रामेश्वर राय यादव, विश्वभक्त दुलाल आहुति र भरत साह रहेका छन् । कार्यदलले एक साताभित्र अध्ययन गरी जिम्मेवारी दिने विषयमा प्रतिवेदन बुझाउने भएको छ । पछिल्लो समय एकतामा आएका र प्रवेश गरेका नेता तथा कार्यकर्ताले जिम्मेवारी नपाएपछि माओवादीले यस्तो निर्णय गरेको हो ।

प्रचण्डसहित शीर्ष नेताले मधेस नछाड्ने

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित शीर्ष नेताले निर्वाचनभर मधेस नछाड्ने भएका छन् । आगामी २ असोजसम्म रामबहादुर थापा बादल, नारायणकाजी श्रेष्ठ, मातृका यादव, देव गुरुङ, हरिबोल गजुरेल, वर्षमान पुन, विश्वनाथ साह, देवेन्द्र पौडेल, रामकुमार शर्मा, रामचन्द्र झा, चक्रपाणि खनाल, उर्मिला अर्याललगायत नेता मधेसमै केन्द्रित हुने भएका छन् ।

राजपाको नाम संकलन नै भएन

राष्ट्रिय जनता पार्टी नेपालले स्थानीय तहका उम्मेदवारको नाम शनिबारसम्म टुंगो लगाउन सकेको छैन । जिल्ला–जिल्लाबाट उम्मेदवारका आकांक्षीको नाम पार्टी केन्द्रमा नआएकाले समयमै उम्मेदवारको नामावली सार्वजनिक गर्न अप्ठेरो परेको छ । शुुक्रबारसम्म जिल्लाबाट उम्मेदवारका आकांक्षीको नाम संकलन गरिसक्ने र आइतबार टुंगो लगाउने राजपाको तयारी थियो । राजपाका नेताहरूका अनुसार बाराबाट मात्रै उम्मेदवारको नामावली केन्द्रमा आइपुगेको छ ।

फोरमभित्र पनि विवाद

संघीय समाजवादी फोरमले ७२ स्थानीय तहमा अझै उम्मेदवार चयन गर्न सकेको छैन । १३ भदौमा ६४ उम्मेदवारको नाम टुंगो लगाए पनि बाँकी स्थानीय तहमा भने आकांक्षी धेरै भएकाले सकस परेको छ । फोरम नेता रत्नेश्वर कायस्थका अनुसार सर्लाहीका कुनै पनि स्थानीय तहमा नाम टुंगो लाग्न सकेको छैन । नयाँ पत्रिकाबाट