पाँच वर्षभित्र हराएका सीमास्तम्भ पुनर्निर्माण सक्न नेपाल-भारत सहमत

पाँच वर्ष भित्र सीमा स्तम्भ पुनर्निर्माण र हराएका स्तम्भहरुको निर्माण सक्न नेपाल–भारतका अधिकारीहरु सहमत भएका छन् । सीमा क्षेत्रमा देखिएका समस्या समाधानका लागि कात्तिक १५ गतेदेखि सीमा क्षेत्रको स्थलगत अध्ययन गर्न नेपाल—भारत सहमत भएका छन् । बुधवार भारतको देहरादुनमा सम्पन्न नेपाल–भारत सीमा कार्यदलको बैठकमा नोभेम्बर १ देखि सीमा क्षेत्रको स्थलगत अध्ययन गर्ने सहमति भएको हो ।

सीमा क्षेत्रमा अतिरिक्त संयुक्त कार्यदल परिचालन गर्न पनि दुवै मुलुक सहमत भएका छन् । सीमा क्षेत्रमा देखिएका समस्या समाधान गर्न त्यस्तो कार्यदललार्य सक्रिय बनाउने सहमति भएको दिल्ली स्थित नेपाली दूतावासले बुधवार जनाएको छ ।

स्थलगत अध्ययनको काम सकिएपछि आगामी बर्ष काठमाडौमा दुई देशको कार्यदलको बैठक बस्नेछ । बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व नापी बिभागका महानिर्देशक गणेश भट्टले गरेका थिए भने भारतीय प्रतिनिधिमण्डलको नेतृत्व भीपी श्रीवास्तवले गरेका थिए ।

नेपाल–भारतबीच विभिन्न स्थानमा सीमा विबाद देखिएको छ । सीमाका जंगे पिल्लर हराएको तथा भारतीय पक्षबाट दशगजा क्षेत्रमा अतिक्रमण गरेका समाचार बेला बखतमा आउने गरेका छन् ।