भदौ १६ देखि ललितपुर मोबाइल मेला

आगामी भदौ १६ गतेदेखि ललितपुरको लगनखेलमा मोबाइल मेला सुरु हुने भएको छ । ललितपुरको लगनखेलस्थित ललितपुर मलको दोस्रो तल्लामा रहेको ललितपुर मोबाइल कम्लेक्सले अयोजना गर्ने मेला भदौ २६ सम्म चल्ने आयोजकले जनाएका छन् । नेपालीको ठूला चाड बडादशैं तथा तिहारको अवसर पारेर विभिन्न ब्राण्डका मोबाइल फोनहरुको मेला सुरु गर्न थालिएको हो ।

“यो नेपालको सबैभन्दा ठूलो मल्टिब्राण्ड मोबाइल शोरुम हो, हामीले महान चाडको अवसर पारेर योजना ल्याएको यहाँ गुणस्तरीय र ब्राण्डेड मोबाइल मात्र उपलब्ध गराउँदैछौं,” कम्प्लेक्सका अध्यक्ष पुरुषोत्तम बस्नेतले भने, “अब हामी हाम्रा ग्राहकहरुलाई आकर्षक उपहारसहित खुशी बनाउन चाहन्छौं ।” कम्प्लेक्समा रहेको टेलि इनोभेसन प्रालिको शोरुमको ग्राण्ड ओपनिङ र मेलाको उद्घाटन सँगसँगै गरिने भएको छ । मोबाइल एक्स्पोमा ग्राहकहरुलाई कुनैपनि मोबाइल फोनको खरिदमा ५ देखि ७० प्रतिशतसम्मको छुट तत्काल उपलब्ध गराइने उनले बताए ।

हरेक मोबाइलको खरिदमा हात खाली नजाने योजनामा पावर ब्यांक, मेमोरी कार्ड, ब्लूटूथ हेडफोन, प्रिन्टेड कप, सेल्फी स्टिक, हेडफोन, स्पीकर लगाएतका हात खाली जाने उपहारको व्यवस्थादेखि कम्प्लेक्सको एक्स्पोको बेलामा दिने अफरहरु सँगै विभिन्न मोबाइल कम्पनीहरुले ल्याएका अफरहरु पनि साथमा लागू हुने जनाइएको छ । जसमा स्क्रयाच अफर, एसएमएस योजना, बम्पर पुरस्कारमा बाईक उपहार, क्यासब्याक, विभिन्न देशको टूरलगायतका मोबाइल खरिदमा लागू भएका योजना पनि एकैसाथ उपलब्ध हुनेछ ।

मोबाइल कम्प्लेक्समा न्यूनतम ९०० देखि १ लाख ४० हजारसम्मको विभिन्न ब्राण्डका फोनहरु उपलब्ध छन् । कम्प्लेक्समा एकै पटक ४ हजारदेखि ५ हजार ग्राहकले सुविधा प्राप्त गर्न सक्ने जनाइएको छ । कम्प्लेक्समा सामसङ, हुवावे, जियोनी, कलर्स, आईफोन, एचटिसी, माइक्रोसफ्ट फोन, डिटिसी, ओवीआई, लाभा, सोनी, जेडटिईलगायत ब्राण्डका फोनहरु उपलब्ध छन् । ललितपुर मलको दोस्रो तल्लामा ४० भन्दा बढी मोबाइल शोरुम तथा आधिकारीक सर्भिस सेन्टर छन् ।