भारत भ्रमणमा देउवाले राष्ट्रघाती सम्झौता गरेको भन्दै नेकपाद्धारा एयरपोर्टमा कालोझण्डा

पाँच दिने भ्रमण सकेर स्वदेश फर्केका प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपाल कम्युनिस्ट पार्टीले कालोझण्डा देखाएको छ । भारतमा भ्रमणको क्रममा राष्ट्रघाती सम्झौता गरेको भन्दै नेकपाका नेता-कार्यकर्ताहरुले त्रिभुवन विमानस्थलमै कालोझण्डा देखाएका हुन् ।
प्रधानमन्त्री देउवा विमानस्‍थलमा उत्रे लगत्तै नेकपाका नेता कार्यकर्ताले नारा जुलुससहित कालोझण्डा देखाएका थिए । उनीहरुले राष्ट्रघाती सम्झौता खारेज गरे, दलाल सरकार मूर्दावाद जस्ता नारा लगाएका थिए ।

विरोध प्रदर्शनमा उत्रेका महिला नेतृ सावित्रा अधिकारी, मजदूर नेता कृष्ण चाैधरी, धुर्व अधिकारी, युवा जनस्वयमसेवकका महासचिव बाबुराम राई, रवी गाेले, विद्यार्थी रविन्द्र मिश्र, डा. शितल शर्मा, रण बिक, भरत तामाङ, दिवाकर कार्की, व्यवसायी युवराज पराजुली, राजकुमार बस्नेत, राेशन किराती, छविराज राईलगायत १३ जनालाई गिरफ्तार गरेको पार्टीका काठमाडौं इन्चार्ज गुणराज लाेहनीले जानकारी दिए ।

विगतको भन्दा केही फरक थियो विरोध प्रदर्शन । नेकपा कार्यकर्ताहरुले १० ओटा बेलुनमा राष्ट्रघाती कोशी उच्च बाँध सम्झौता खारेज, दलाल सरकार मुर्दावाद जस्ता नारा लेखिएका वेलुन एयरपोर्टको अाकाशमा उडेका थिए । गिरफ्तार नेता-कार्यकर्तालाई तत्काल रिहा नगरे कडा संघर्षका कार्यक्रम घोषणा गर्न बाध्य हुने लोहनीले बताए ।