पुल नहुदा यस्ताे जोखिमपूर्ण यात्रा

बझाङ । गाउँ नजिकै रहेका अधिकांश खोलामा झोलुङगे पुल नहुदा यहाँका स्थानीय बासीले काठेपुलको जोखिम यात्रा गर्नु परेको छ । जिल्लाको बुङगल नगरपालिका -९ स्थित देउलीकोट, कफलसेरी र पिपलकोट गाउँका बासिन्दा काठेपुलको जोखिम यात्रा गर्न बाध्य छन् । देउलीकोट गाउँ नजिकै रहेको घट्टे खोलामा झोलुङगे पुल नहुदा स्थानीयले छिमेकी गाउँ आवतजावत गर्न दिनहु काठेपुलको जोखिम यात्रा गर्नु परेको हो ।

घट्टेखोला जस्तै देउलकोट गाउँमा रहेका शंकर खोला लगायत दर्जनौ खोलामा पुलको अभाव छ । वर्षा याम भएकै कारण यतिखेर खहरे खोलामा समेत आवतजावत गर्न कठिनाई भएको देउलीकोटका स्थानीयबासी बताँउछन् । देउलीकोट लगायत जिल्लाका अन्य ग्रामीण भेगमा पनि खोलामा पुल नहुदा यहाँका स्थानीयबासीले काठेपुलको यात्रा गर्नु परेको छ । देउलीकोट, कफलसेरी, पिपलकोट र खिरातडी गाउँका बासिन्दालाई नगरपालिका कार्यालय र वडा कार्यालय सम्म आवतजावत गर्नु पर्दा समस्या हुने गर्दछ । उनीहरुले खहरे खोलामा रहेका काठेपुलकै भरमा जोखिम यात्रा गर्नु परेको हो । वर्षा याम भएकै कारण बुङगल क्षेत्रका खोलामा पानीको बहाव निकै बढेको छ । पुल नबन्दा वर्षैनी खोलाले बगाएर यस क्षेत्रका कतिपय स्थानीयले अकालमै ज्यान गुमाउनु परेको छ ।

गाउँबाट वडा कार्यालय सम्म पुग्न खोलामा काठेपुलबाट तर्नु परेको देउलीकोट गाउँका स्थानीय रमिता कुमारी सिंहले बताँइन् । उनले भनिन् ‘यहाँका स्थानीयहरु दैनिक जोखिम यात्रा गर्न बाध्य छन् तर पनि राज्य निकायले भने बेवास्ता गरेको छ ।’ देउलीकोट र कफलसेरी जोड्ने शंकर खोलामा पनि काठेपुलकै भरमा यात्रा गर्नु पर्ने अवस्था छ । काठेपुलमा यात्रा गर्दा निकै होसियारी पुर्वक गर्नु पर्छ । विद्यालय जाने बालबालिका समेत काठेपुल बाट आवतजावत गर्ने गर्दछन् । उनीहरुको दैनिकी निकै कष्टकर रहेको छ । कतिपय स्थानमा भएका काठेपुल पनि वर्षा याम भएकै कारण खोलामा बाढी आउदा बगाएका छन् ।

बुङगल नगरपालिका क्षेत्रमा रहेका अन्य दर्जनौ गाउँमा रहेका खहरे खोलामा समेत पुलको निकै समस्या रहेको छ । दहबगर खिरातडी बमर लगायतका गाउँमा पुग्न यतिखेर खहरे खोलामा लौरोको भरले आवतजावत गर्नु पर्ने हुन्छ । स्वास्थ्य चौकी तथा विद्यालय सम्म पुग्न बमरका बासीन्दाले निकै कष्ट बेहर्नु परेको देखिन्छ । ग्रामीण भेगमा रहेका दर्जनौ खहरे खोलामा पुल निर्माणको लागी बुङगल क्षेत्रका स्थानीयबासीले सम्बन्धित निकाय सँग माग गर्दे आएका छन् ।