मध्यरातमा किशोरीमाथि खुकुरी प्रहार गरेर फरार

शिवनाथ गाउँपालिकामा किशोरीमाथि खुकुरी प्रहार गर्ने युवामाथि जबर्जस्ती करणी र ज्यान मार्ने उद्योगमा मुद्या दर्ता भएको छ। पीडित किशोरीका आफन्तले किटानी–जाहेरी गरेपछि जिल्ला प्रहरी कार्यालय बैतडीले अभियुक्त मिनबहादुर चन्दविरुद्ध मुद्दा दर्ता गरेको हो। ‘ज्यान मार्न खोजेको किटानीका आधारमा र अपराधी फरार रहेकाले घटना दर्ता भएको हो ।’

प्रहरी प्रमुख डिएसपी हेरम्ब शर्माले भने। शुक्रबार राती १ बजेको समयमा शिवनाथ गाउँपालिकामा २ अमसैनीकी १७ वर्षीय निर्मला चन्दमाथि ठाउँ बस्ने २२ वर्षिय मिनबहादुर खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ। फरार आरोपी चन्दको खोजी कार्य तिव्र पारिएको प्रहरीले जनाएको छ। खुकुरी प्रहारबाट किशोरीको टाउकोमा ४ सेन्टिमिटर लामोे घाउ लागेको छ। रातीको समयमा युवतीको कोठामा गएर आक्रमण गरेको भन्दै पीडित परिवारले पिडकलाई कडाभन्दा कडा कारबाहीको माग गरेका छन्।

पीडित किशोरीका अभिभावकले युवकले जबर्जस्ती गर्न खोजेको र किशोरीले प्रतिकार गर्न खोज्दा खुकुरी प्रहार गरी मार्न खोजेको आरोप लगाएका छन्।फरार अभियुक्त चन्दको खोजी कार्य भइरहेको कुस्मौतघाट प्रहरी चौकीका इन्चार्ज धनबहादुर खड्काले बताए। घाइते निर्मला नागार्जुन मावि शर्मालीमा कक्षा १० अध्यनरत विद्यार्थी हुन्। घाइते निर्मला चन्द नाताले अभियुक्त मिनबहादुरकी फूपू पर्छिन्।

जबरजस्ती करणीका घटनाहरु बढ्दै

बैतडीमा पछिल्ला समय जबरजस्ती करणीका घटनाहरु बढ्दै गएका छन्। महिला हिंसाका घटनाहरु कानुनी कटघरामा नल्याउदा घटना झन दोहोरिने गरेका छन्। गत आर्थिक बर्षमा महिला हिंसाको ७७ घटना मध्ये ७६ घटनाहरु मेलमिलाप गराईएको थियो भने एक घटना मात्रै दर्ता भएको थियो। यसरी अपराधीले उन्मुक्ति पाएकाले पनि महिला हिंसा बढेको अधिकारकर्मी सरस्वती नेपालीले बताइन्। ‘अपराधीले सजाय पाउने गरेका छैन‍न्। त्यसैले हिंसा बढेको हो,’ उनले भनिन्।