हेर्दाहेर्दै बाढीले बगायो तीनकोठे पक्की घर, बाबुको काजकिरिया गर्न सकियन
सिंघियाखोलाको बाढीमा तीनकोठे पक्की र दुई टिनका घरसहित १२ धुर जग्गा, धनमाल बगेपछि २४ वर्षीय उमेश मेहता सडकमा आइपुगेका छन्। बुबाको काजकिरिया गर्ने रकमसम्म छैन उनीसँग। झण्डै १५ लाख रुपैयाँ बराबरको जग्गा र ४ लाख रुपैयाँ लागतको घर र सामग्री बगेको छ। मेहता परिवार अघिल्लो शनिबार बुबाको चौथो दिनको काजकिरियामा ब्यस्त थियो। घर खोलादेखि टाढा र उचाइमा रहेकाले बाढीले क्षति पुर्याउला भन्ने सोचसम्म पनि थिएन।
‘अचानक दिउँसो २ बजे ठूलो बेगले कोठामा पानी छिर्यो। सबै जा एकसरो लुगामा सडकतिर भाग्यौं’ मेहताले भने। त्यतिबेला उनीबाहेक घरमा श्रीमती, दुई भाइ, बुहारी, दिदी र उनका दुई बच्चा थिए। मेहता ट्रक श्रमिक हुन् भने माहिला भाइ दीपेश टायल मिस्त्री। मेहताले भने ‘ आँखाअगाडि हेर्दाहेर्दै कागतको टुक्राझैं घर, जग्गा र सम्पूर्ण सरसामान खोलामा विलीन भए।
बुबाको काजकिरिया पूरा गर्न पनि सकिन।’ आश्रयविहीन भएपछि स्थानीय सामुदायिक विद्यालयमा ५ कक्षामा पढ्ने मेहताका कान्छा भाइ दीपेनको पढाइ अवरुद्ध भएको छ। अहिले तुलसीको मठबाहेक केही नदेखिने हुनाले त्यहाँ घर पनि थियो भन्ने पत्याउनै कठिन हुन्छ। त्यही थलोमा मेहता परिवार राहतस्वरुप पाएको त्रिपाल र कम्बलको मद्धतले बास बसिरहेका छन्। विराटनगर-८ बालगोपाल मार्गस्थित खोलाछेउको उक्त बाक्लो बस्तीमा अन्य नौ परिवारका पक्की एवं टिनका घर भत्किएका छन्।