वाईसीएलको दोस्रो राष्ट्रिय सम्मेलन, नेतृत्वका लागि तीनजनाको प्रतिस्पर्धा

माओवादी केन्द्रको युवा भातृ संगठन योङ कम्युनिष्ट लिग (वाइसीएल)को दोस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन आज हुँदै छ । बिहान ११ बजे कोटेश्वर पार्टी प्यालेस, जडिबुटीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नेछन् । वाईसीएलको नयाँ नेतृत्व सहमतिबाटै आउने सम्भावना देखिएको छ । गत वर्ष १० माओवादी घटकबीच एकता भएको थियो ।

‘राष्ट्रिय सम्मेलनबाट सहमतिमै नयाँ नेतृत्व आउने सम्भावना धेरै देखिएको छ,’ वाइसीएल संगठन विभाग प्रमुख रामप्रसाद सापकोटा ‘दीपशिखा’ले भने, ‘सहमति नभएमा मात्र निर्वाचनमा जान्छौं ।’ निर्वाचनमा जाने सम्भावना भने एकदमै कम रहेको उनको भनाइ छ । यदि वाइसिएलमा निर्वाचनबाट नयाँ नेतृत्व आएमा माओवादी पाटीृकै नयाँ अभ्यास सुरु हुनेछ ।

वाईसीएल नेतृत्वका लागि प्रतिस्पर्धामा तीनजना

वाइसीएलको अध्यक्षका लागि तीनजनाले आकांक्षा देखाएका छन् । जसमा रामप्रसाद सापकोटा दीपशिखा, लक्ष्मी चौलागाईं र दीपक देवकोटा छन् । सापकोटा संगठन विभाग प्रमुख र पूर्व जनमुक्ति सेना हुन् ।

दीपक लामो समयदेखि कम्युनिस्ट राजनीतिमा क्रियाशिल छन् भने चौलागाईं पूर्वजनमुक्ति सेना हुन् । वाइसीएल महासचिवका लागि सुबोध शेर्पाली र सुमन देवकोटाबीच प्रतिस्पर्धा छ । -नयाँ पत्रिका दैनिक