प्रधानमन्त्रीलाई चीन भ्रमणको औपचारिक निम्तो, तातोपानी नाका खोल्न देउवाकाे अाग्रह

चीनले प्रधानमन्त्री शेरबहादुर देउवालाई चीन भ्रमणको औपचारिक निम्तो दिएको छ । चिनियाँ उपप्रधानमन्त्री वाङ याङले बुधबार प्रधानमन्त्रीसँगको भेटमा निम्तो दिएका हुन । याङले उपयुक्त समय मिलाएर यथाशक्य चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपालको भ्रमण गर्नेसमेत उल्लेख गरे ।

‘चिनियाँ राष्ट्रपतिको भ्रमणको विषय प्रधानमन्त्रीले सम्झाउनुभयो, उपप्रधानमन्त्री वाङले राष्ट्रपति सी जिनपिङले समय मिलाएर यथाशीघ्र भ्रमण गर्न चाहनुभएको बताउनुभयो,’ भेटमा सहभागी प्रधानमन्त्रीका परराष्ट्र मामिलासम्बन्धी सल्लाहकार डा. दिनेश भट्टराईले नयाँ पत्रिकासँग भने । भेटमा नेपाल–चीन सम्बन्ध, द्विपक्षीय सहकार्य, एक चीन नीतिलगायत समसामयिक विषयमा छलफल भएको पनि उनले जानकारी दिए । चिनियाँ उपप्रधानमन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि शिष्टाचार भेट गरेका थिए ।

लगानी गर्न आग्रह

देउवाले नेपालमा लगानी गर्न आग्रह गरेका थिए । नेपालको विकासमा चीनको सहयोगप्रति धन्यवाद दिँदै थप सहकार्यका लागि नेपाल तयार रहेको उनको धारणा थियो । परराष्ट्र मन्त्रालयका अनुसार भेटमा द्विपक्षीय सम्बन्ध, पारस्परिक सहयोग अभिवृद्धिबारे छलफल भएको थियो । व्यापार, पर्यटन, पूर्वाधार, सीमापार कनेक्टिभिटीबारे छलफल भएको थियो । ओबिओआरसम्बन्धी सम्झौता कार्यान्वयनबारे पनि छलफल भएको थियो ।

प्रधानमन्त्री देउवाले व्यापार, पर्यटन, लगानी, पूर्वाधार, विकास तथा अन्य विषयमा चीनसँग सहकार्य गर्न चाहेको बताए । विगतमा चीनसँग भएका सबै सम्झौता कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको पनि देउवाले आश्वस्त पारेका थिए ।

एक चीन नीतिप्रति नेपालको अडानको समर्थन गर्दै चिनियाँ उपप्रधानमन्त्री वाङले नेपालको सामाजिक, आर्थिक विकासको प्रयासमा चीनको निरन्तर साथ र समर्थन रहने पनि उल्लेख गरे । देउवाले बाढीपीडितका लागि चीनले दिएको दश लाख अमेरिकी डलर सहायताप्रति धन्यवादसमेत दिएका थिए ।

‘शान्ति र स्थायित्व कायम होस्’

वाङले देउवाको नेतृत्वमा नेपालमा शान्ति र स्थायित्व कायम होस् भन्ने कामनासमेत गरेका छन् । देउवाले प्रदेश नम्बर २ मा हुन लागेको स्थानीय निर्वाचन, त्यसपछि केन्द्रीय संसद् र प्रान्तको निर्वाचन गराउने सरकारको प्राथमिकता सुनाएका थिए । सबै निर्वाचनपछि नेपाल शान्ति र स्थायित्वको बाटोमा जाने प्रधानमन्त्रीको भनाइ थियो ।

नेपाली उत्पादनको प्रवेश दिनुस्

देउवाले नेपाली उत्पादनलाई चिनियाँ बजारमा निर्वाध प्रदेश दिन आग्रह गरेका छन् । यसले नेपालको व्यापार घाटा कम गर्न मद्दत पुग्ने देउवाको भनाइ थियो । जवाफमा चिनियाँ उपप्रधानमन्त्रीले सहयोग गर्ने आश्वासन दिएका थिए ।

तातोपानी नाका खोलौँ

देउवाले ऐतिहासिक महत्वको तातोपानी नाका खोल्न चीन सरकारसँग आग्रह गरे । चिनियाँ उपप्रधानमन्त्रीले अरनिको राजमार्ग मर्मत तथा पुनर्निर्माणका लागि समेत सहयोग दिने सम्झौतामा हस्ताक्षर भएको स्मरण गरेका थिए । उनले तातोपानी नाका सञ्चालनमा चीन सकारात्मक रहेको पनि उल्लेख गरेका थिए ।

ल्हासा–काठमाडौं रेल्वे

वाङले नेपाल र चीनबीच सडक रेल्वे कनेक्टिभिटीमा जोड दिएका थिए । सल्लाहकार भट्टराईका अनुसार वाङले ल्हासा–काठमाडौं रेल्वेको सम्भाव्यता अध्ययन गर्न लागेको पनि जानकारी दिएका थिए । नयाँ पत्रिकाबाट