चिनियाँ उपप्रधानमन्त्रीद्वारा आयुर्वेदिक अनुसन्धान केन्द्रको अवलोकन

नेपाल भ्रमणमा रहेको चिनियाँ उपप्रधानमन्त्री वाङ याङलगायतको टोलीले राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रको अवलोकन गरेको छ । सो अवसरमा स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेल, चीनका लागि नेपाली राजदूत लिलामणि पौड्याल, स्वास्थ्य सचिव डा. किरण रेग्मी, स्वास्थ्य मन्त्रालय अन्तर्राष्ट्रिय महाशाखा प्रमुख डा. श्रीकृष्ण गिरी, त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. तिर्थराज खनियाँ लगायतका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।

चिनिया उपप्रधानमन्त्रीले आयुर्वेद केन्द्रको अनुसन्धानको क्षेत्रमा सहकार्य आवश्यक रहेको औंल्याउँदै प्राविधिक सहकार्यको मोडालिटी तथा भविष्यमा गर्नुपर्ने कार्ययोजनासहित नेपाली पक्षबाट आएका विषयलाई चीन सरकारले सहयोग गर्ने बताए । सो क्रममा आयुर्वेदिक अनुसन्धानको लागि निकट भविष्यमा नै कार्यदल बनाएर अगाडि बढ्ने विषयमा पनि छलफल भएको थियो ।

स्वास्थ्यमन्त्री गिरीराजमणि पोखरेलले सातवटै प्रदेशमा जडिबुटी उद्यानसहितको अनुसन्धान केन्द्र स्थापना गर्नुपर्ने बताए । उनले मुलुक संघीय संरचनामा गइसकेको अवस्थामा आयुर्वेदको विकासलाई पनि संघीयअनुसार विस्तार गर्नुपर्नेमा जोड दिए । नेपालको आयुर्वेद चिकित्सा पद्धति र चीनको आयुर्वेदिक पद्धतिमा केही सैद्धान्तिक फरक रहेपनि आयुर्वेदका धेरै आयामहरू मिल्ने उनले बताए ।