जलमग्न छ उता, सोचमग्न छु म ….

पखालियो कि मधेशका असन्तुष्टिहरु !
धमिलै छाडेका छन् ।
केहि दिनदेखि बाढी र वर्षाले खतराको सीमा नाघेको नाघ्यै थियो । समाचारका हेडलाइन आए, मेटिए । सुनेनन् । देखेनन् । पढेनन् । हेरेनन् । अर्थात चाहेनन् ।  अब मधेश हेडलाइनमा मात्र नअट्ने भए । नसुने झैं गरेपछि धमिलो भेलमा डुबेको मधेशजस्तै सञ्चार माध्यमका पानाहरु डुबान, मृत्यु र क्षतिले जलमग्न भयो । भैरहेछ ।

गोठमा बाँधिएका गाइवस्तु बगाए । भकारीमा थन्काइएका केहि बोरा अन्न पनि पुरे । घरका खाँवो मक्कियो । पाली मेटियो । छानो उत्तानियो ।  आँखामा नउनिने फाँटका हरिया वालीमा खहरेले दाइँ खेल्यो । त्राही त्राही भयो मधेश । बरै, अनाहकमा सयको हाराहारीमा ज्यान खायो । केहि दिनमा । पुड्का घरभित्र अकस्मात घुसेको वाढीले चिन्तारामको उठिवास भएको छ । निद खोसिएको छ ।

ओछ्यानवाटै टिपेका अम्वरेहरु वेपत्ता छन् । मट्याङ्ग्रा टिप्ने बगर बनेको छ आँगन ।  पहाडतिर निरमायाँ, आइते र हर्केहरु पहिरोमा पुरिए ।  खै, भेटिए या भेटिएनन् ।
०००
तीन धार्नी खसी काँधमा बोकेर खोला तर्नेहरु भन्दै थिए– बाँकी यै छ । एक तुर्की संग्लो पानी नभेटेकाहरुले मन्त्री उडेको हेलिकप्टर हेरेर घाँटी भिजाए कुन्नि ।  डस्ना र सिरकमा वाढीले लात हानेपछि, उभिएरै निदाएका छन् तिलाठीवासी । जसले करङ मात्र लिएर दुश्मनका छातीमा मुक्का हानेको थियो । देशका लागि ।

अगेना तलाउ बनेको छ । पानी पानी । वन दाउरा सल्किन मान्दैन । चुल्हो नतातेको औंलामा गन्न थालेका छन् शुकवहादुर । सिँगान नाकमा झुण्ड्याउनेहरुको कचकच बाक्लिदै छ । सुनेर मात्र बस्न सक्दैनन् शुकवहादुर । तर केहि दिनदेखि यसरी नै चलिराछ ।
दूरसञ्चार पुरियो । राजमार्ग चुडियो ।

असी नाघ्दै गरेका साहेव यादवसँग रामनारायपणको तीनदिन देखि सम्पर्क टुटेको छ । रोजगारी खोज्दै नागढुङ्गा कटेकाहरुको कथा आफ्नै छ । यता । खायो–खाएन ! मर्यो कि जिउँदैछ ! उता ।

एक पुरे बिस्कुट लिएर जाउँ, चाउचाउ कार्टुन लगुँ – मुग्लिन पहिरो बनेर छेक्छ । चुडेको राजमार्गमा हामफाल्न सकिन्न । रामनारायणको आँखा जवर्जस्ती निदाउन खोज्छ असनको भुइँतलामा ।
०००
मौसममा सुधार आउने पूर्वानुमान महाशाखाको अनुमान । राहत वितरणमा सरकारको एकद्वार नीति ।  राहत संकलनमा जुट्यो संघसंस्थाहरु । प्रभावित क्षेत्रमा प्रधानमन्त्री र गृहमन्त्री निरीक्षणमा ।

यिनै हेडलाइनहरुसँग अभ्यस्त हुदैछ आँखाहरु । देखिएका दृश्यहरुले कुटुक्क मन खान्छ । एक जोर लगाएकै थिए । जो भिजे । सन्दुकमा जति थिए, भिजे । घाम नदेखेका चोलो र गुन्युहरुमा ढुसी आउन लागे होलान् । जाडोले काँपेका नाङ्गा पाखुरामा काँडा उम्रेका छन्, पक्कै ।
सुकेका मुढा चिर्ने जोश सायदै होला उनिहरुसित ।

कठै !
ओहोर दोहोर गरिरहेका छन् चिसो हावा । पर्दाहरु उघ्रेकै छन् । उकुसमुकुस हुन्छु आफैभित्र ।  कट्टु र सेन्डु लगाउँ । जुत्ता खोलुँ । सरकारले मागेका हजार स्वयम्सेवकहरुको अग्रपंक्तिमा मार्चपास गरुँ । यो साता ।  उनिहरुको पीडा अनुभूत गरुँ । कोहि छन् भन्ने उनिहरुको विश्वासलाई प्रत्याभूत गरुँ ।