बाढीको फोटो राखेर सुरु भयो यसरी डलर उठाउने धन्दा !

नेपालको तराई लगायतका क्षेत्रमा भइरहेको डुवान तथा जनधनको क्षतीको फोटो राखेर अनलाइनमा राहतका नाममा रकम उठाउने धन्दा सुरु भएको छ । बाढी पहिरोमा परेका व्यक्तिका लागि सहयोग भन्दै विभिन्न व्यक्ति तथा संस्थाका नाममा इन्टरनेट मार्फत पैसा संकलनको धन्दा सुरु भएको हो ।

केही दिन देखिको लगातारको बर्षका कारण नेपालको ताई लगायत पूर्व तथा पश्चिमका अधिकाशं क्षेत्र जलमग्न भएका छन् । ती क्षेत्रका पीडित व्यक्ति र बाढीले डुवानमा परेको स्थानको फोटो राखेर ‘समस्यामा परेका नेपालीलाई सहयोग’ भन्दै राहतका नाममा असुली सुरु भएको हो । विभिन्न व्यक्तिले इन्टरनेटमा सहयोग कोष खडा गरि देश तथा विदेशमा रहेका व्यक्तिवाट सहयोगका नाममा लाखौ रुपैयाँ रकम उठाउन थालेका हुन् ।

बाढी पहिरोले लाखौ मानिस प्रभावित भइरहेको समयमा ‘सेन्टिमेन्ट क्याच’ गर्दै हजारौं व्यक्ति तथा संघ संस्थाका नाममा राहत संकलन सुरु भएको हो । अधिकाशंले जलमग्न भएको तराई क्षेत्र तथा बाढी पहिरोले क्षतविक्षत भएको फोटो इन्टरनेटमा राख्दै सहयोग उठाइरहेका छन् । यसरी रकम उठाउने सबैको नियत खराब हुन्छन् भन्ने हुँदैन । तर, गोरखा भूकम्पको बेला देखिएको प्रवृतिले यसपटक पनि उठाइएको राहतको त्यही नियति त हुँदैन भन्ने प्रश्न उठाउने ठाउँ भने पक्कै छ ।