मन्त्री आए, हेरेर फर्किए, बाढीपीडितको उद्धार भएन
पश्चिम नेपालका बाँके, बर्दिया, दाङ र कैलाली जिल्लाका बाढी–डुबान पीडित राहतको पर्खाइमा छन् । डुबानग्रस्त कतिपय क्षेत्रका स्थानीको उद्धारसमेत हुन सकेको छैन । आइतबार गृहमन्त्री जनार्दन शर्माले प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरे । नेपाली सेनाका हेलिकोप्टर पनि दिनभर परिचालन भए । तर, बाढीपीडितको उद्धार हुन सकेन ।
बर्दिया, खैरीचन्दनपुरको मझरा टप्पामा ४६ घरधुरी फसेका छन् । उनीहरु ४८ घण्टादेखि उद्धारको प्रतीक्षामा छन् । स्थानीय रामबहादुर चौधरीले हेलिकोप्टरलाई हात हल्लाएर उद्धार गर्न संकेत गरे पनि फर्केर गएको बताए । ‘हामी शनिबार दिउँसोदेखि यहीँ छौं,’ उनले टेलिफोनमा भने, ‘कहिलेसम्म बस्नु पर्ने हो थाहा छैन ।’
ठाकुरद्वारा, बारबर्दिया, मधुवन, गुलरिया र बासगढी नगरपालिकाका बाढीपीडित रुख र विद्यालयको छतमाथि उद्धारको पर्खाइमा बसिरहेका छन् । –नागरिक दैनिकबाट