यस्ताे भनिन् सुष्मा स्वराजले‘हाइ टी’ जमघटमा प्रचण्ड र देउवालाई….

भारतीय विदेशी मन्त्री सुष्मा स्वराज आज लैनचौरका इण्डियन हाउसमा नेपाली राजनीतिक दलका हस्तीहरुलाई चियापानमा बोलाएर नेपाल र भारतको सम्बन्ध र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश सुनाएकी छिन् । मन्त्रीस्तरीय बिमस्टेक बैठकमा भाग लिन विहिवार नेपाल आएकी सुष्मा स्वराजले राजनीतिक दलका नेताहरुलाई नेपालको राजनीतिमा विश्वासको वातावरण तयार भइरहेको बताएकी हुन् ।

विगतमा नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच विगतमा रहेको सम्बन्धलाई कोट्याउँदै उनले पछिल्लो समय दुईजनाको बीचमा देखिएको सम्बन्धले नेपालको राजनीतिक अवस्था विश्वासतिर गइरहेको पुष्टि भएको बताइन् । उनले भनिन्, ‘हाम्रो पिएमले युद्धबाट बुद्धतिर, शस्त्रबाट शास्त्रतिर नेपाल गएको भन्नुभएको थियो, त्यसमा मैले आज यही जोड्न चाहन्छु कि नेपालको अविश्वासको राजनीतिक विश्वासतिर गइरहेको छ ।’

त्यसको उदाहरणमा उनले देउवा र प्रचण्डको नाम समेत लिइन् । उनले भनिन्, ‘जब देउवाजी र प्रचण्डजीको मिलन भयो, तब देशको सबभन्दा ठूलो पार्टी भएर पनि प्रचण्डजीको नेतृत्वमा सरकार निर्माण गर्न दिनुभयो, प्रचण्डजीले पनि स्थानीय तहको चुनाव गराएर विभिन्न, आरोह, अवरोहका बाबजुद पनि देउवालाई सरकार सुम्पि दिनुभयो, राजनीतिकमा यस्तो घटना बिरलै पाइन्छ । यो दुईको मिलनले नै देशको पार लगाउँछन् ।’

कार्यक्रममा एमालेका अध्यक्ष केपी शर्मा र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको अनुपस्थित थिए । एमाले तथा फोरम नेपालका अन्य नेताहरुको भने उपस्थिति थियो । त्यस आलावा प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डबाहेक विजयकुमार गच्छदार, राजपाका महन्थ ठाकुरलगायतका नेताहरुको उपस्थित थिए । नयाँ शक्तिबाट हिसिला यमीको पनि उपस्थिति थियो । पूर्व उपराष्ट्रपति परमानन्द झाको पनि उपस्थिति देखिएको थियो भने कुटनीतिक नियोगका प्रतिनिधिहरुको पनि उपस्थिति थियो । साथै वर्तमान मन्त्रीपरिषद्का सदस्यहरु, उपप्रधानमन्त्रीहरुको पनि उपस्थिति थियो ।