भारतीय विदेशमन्त्रीले सम्झाएपछि बल्ल नरम भए राजपाका नेताहरु

भारतीय विदेशमन्त्री सुष्मा स्वराज अहिले नेपालमा छिन् । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमिस्टेक)को १५ औं विदेशमन्त्रीस्तरीय बैठकमा सहभागी हुन स्वराज बिहीवार काठमाडौं उत्रिएकी हुन् । काठमाडौं उत्रिएकै दिन (बिहीवार) नै स्वारजले राष्ट्रपति विद्यादेवी भण्डारीदेखि प्रधानमन्त्री शेरबहादुर देउवासँग सिष्टाचार भेटवार्ता गरिन् । उनले मधेस केन्द्रित राष्ट्रिय जनता पार्टी (राजपा)का नेताहरुसँग राजनीतिक भेटघाट गरिन् ।

उनको यो भेटघाटले भने नेपाली राजनीतिमा केही नयाँ तरंग सिर्जना गरिदिएको छ । बिहीवार विहानसम्म सरकारप्रति आक्रोशपूर्ण अभिव्यक्ति दिइरहेका राजपाका नेताहरु स्वराजसँगको घेटघाटपछि नरम भएका छन् । र शुक्रवार (आज) विहानै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् । राजपका नेताहरुले शुक्रबार बिहान प्रधानमन्त्री देउवालाई बालुवाटारमा भेटेर संविधान संशोधनलाई तत्काल अगाडि बढाउन आग्रह गरेका छन् । यसअघि भारतीय विदेशमन्त्रीसँगको भेटमा प्रधानमन्त्री देउवाले आफ्नो भारत भ्रमणपछि संविधान संशोधनलाई प्रक्रियामा लैजाने बताएका थिए ।

संविधान संशोधनबारे प्रधानमन्त्रीसँगको भेटमा भएको कुराकानी स्वराजले राजपाका नेताहरुलाई पनि ‘शेयर’ गरिन् । प्रधानमन्त्रीको भारत भ्रमणपछि संशोधन गरिए आफूहरुले चुनावमा जानका लागि तयारी नै गर्न नपाउने राजपाका नेताहरुको भनाइ थियो । भारतको चाहना राजपा पनि चुनावमा जाओस् भन्ने रहेको भन्दै स्वराजले संविधान संशोधन प्रक्रियामा लगेर आएको परिणामलाई स्वीकार गर्दै चुनावमा जान राजपाका नेताहरुलाई सुझाव दिएकी थिइन् ।

स्वराजले दुई नम्बर प्रदेशको चुनाव ‘विथोल्ने’ पक्षमा भारत नरहेको बताएपछि राजपाका नेताहरु संविधान संशोधनलाई तत्काल अगाडि बढाउनुपर्ने निष्कर्शमा पुगेका हुन् । स्वराजसँगको भेटवार्ता सकिएपछि नै राजपाका नेताहरुले प्रधानमन्त्रीसँग भेटका लागि समय मागेको प्रधानमन्त्री देउवाको निजी सचिवालयले जनाएको छ ।