भारतीय दूतावासको गतिविधि नियन्त्रण गर्न एमालेको चर्काे दवाव

वीरगञ्जस्थित भारतीय वाणिज्य दूतावासका अधिकारीले गैरकुटनीतिक क्रियाकलाप गरिरहेको दाबी गर्दै एमालेले सरकारको जवाफ माग गरेको छ ।

प्रदेश २ मा हुने स्थानीय तह निर्वाचित लक्षित गरी वाणिज्य दूतावासले गैर कुटनीतिक सक्रियता बढाएको उल्लेख गर्दै एमालेले कुनै पनि कुटनीतिक नियोगलाई भियना अभिसन्धिविपरीतका क्रियाकलापमा रोक लगाउन सरकारको ध्यानाकर्षण गराएको हो । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

‘वीरगञ्जमा रहेको भारतीय वाणिज्य दूतावासले उम्मेदवारका रुपमा चर्चित विभिन्न व्यक्तिलाई कार्यालयमा बोलाउने र हप्कीदप्की गर्नेजस्ता क्रियाकलाप गरिरहेको सुन्नमा आएको छ ।

यस विषयमा सरकारसँग के जानकारी छ ? सदनलाई जानकारी गराओस्’, पूर्व गृहमन्त्रीसमेत रहेका एमाले उपाध्यक्ष भीमबहादुर रावलले बिहीबार संसदको विशेष सममा भने, ‘कुनै पनि देशको दूतले भियना अभिसन्धिका व्यवस्था उल्लंघन गरेमा सम्बन्धित देशबाट निष्काशन गर्नेसम्मको कारवाही गर्न सक्ने अधिकारी त्यसै अभिसन्धिले दिएको छ ।’