भारतीय दूतावासले उम्मेदवारहरूलाई बोलाएर हप्कीदप्की गरेकाे भीम रावलको खुलासा

नेकपा एमालेका उपाध्यक्ष एवम् सांसद भीमबहादुर रावलले वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासले कुटनीतिविपरीत गतिविधि गरिरहँदा पनि नेपाल सरकार मौन बसेको आरोप लगाएका छन्। व्यवस्थापिका संसदको बुधबारको बैठकमा विशेष समयमा बोल्दै सांसद रावलले ‘अमूक दलका उम्मेदवारहरूलाई बोलाएर सहयोग गर्ने र कसैलाई हप्कीदप्की गर्ने गरेको’ बताए।

‘वीरगंजमा रहेको महावाणिज्य दूतावासले उम्मेदवारहरूलाई बोलाउने, निर्देशन दिने, हप्कीदप्की गर्ने र सुविधा बाँड्ने काम गरेको छ’, रावलले भने, ‘अमूक दलका उम्मेदवारलाई सहयोग गर्ने गरेको कुरा हाम्रो देशका परराष्ट्रमन्त्री वा प्रधानमन्त्रीलाई जानकारी छ कि छैन?’ अरु देशको राजदूतावास मुलुकको राजनीतिबारे छलफल हुँदा पनि सरकारले चासो नदिएकोप्रति उनले आक्रोश व्यक्त गरे।

प्रधानमन्त्री शरबहादुर देउवाको आसन्न भारत भ्रमणमा यस विषयमा समेत छलफल हुने हो कि नहुने हो भन्ने उनको प्रश्न छ। ‘प्रधानमन्त्री यही कुरामा वार्ता गर्न भारत जान लाग्नुभएको हो कि? मलाई जिज्ञासा लागेको छ’, रावलले भने, ‘कुनै पनि देशको दूतले भियना कन्भेन्सन उल्लंघन गरेमा उसलाई फिर्ता पठाउन सकिन्छ, सरकारको ध्यान पुगोस्।’