पार्टी एकताको ६ महिना नबित्दै राप्रपामा फेरि फुट

राणाले आवश्यक ४० प्रतिशत देखाउन सकेनन्

पार्टी एकताको ६ महिना नबित्दै कमल थापा नेतृत्वको राप्रपामा विभाजन आएको छ । असन्तुष्ट नेता पशुपति शमशेर राणाले बहुमत सांसद र केन्द्रीय सदस्य आफ्नो पक्षमा रहेको दाबी गर्दै आइतबार साँझ निर्वाचन आयोगमा ‘राप्रपा प्रजातान्तिक’ पार्टी निर्माणका लागि निवेदन दिएका छन् ।नयाँ पार्टी दर्ताका लागि निवेदन दर्ता गराउन राप्रपाका प्रभावशाली नेताहरु सुनील थापा, विक्रम पाण्डे, दीपक बोहरा, राजाराम श्रेष्ठसहित सांसदहरु राज्यलक्ष्मी शाक्य, बबिना मोक्तान लावती, रेशम बहादुर लामा, विराज विष्ट, इश्तियाक अहमद खाँ, सीता लुइँटेल, सरोज बर्मा, कमलादेबी शर्मा, लक्ष्मी थापालगायत आयोग पुगेका थिए ।

निवेदनमा नयाँ पार्टी गठनका लागि चाहिने ४० प्रतिशत सांसद र केन्द्रीय सदस्य आफ्नो पक्षमा रहेको दाबी गरिएको छ । यस्तै नयाँ पार्टीको अध्यक्ष राणा रहने र २२ सांसद र ७२ केन्द्रीय सदस्य रहेको सूचिपनि बुझाइएको छ । तर, निर्वाचन आयोगमा सनाखत गराउने क्रममा सांसदसहित ६४ जनाले मात्रै हस्ताक्षर गरेका छन् । हस्ताक्षर गर्नेमा केहि सांसदमात्रै रहेका छन् भने केहि सांसद र केन्द्रीय सदस्य दुबै नरहेका समेत रहेका छन् । राप्रपा निकट स्रोतका अनुसार हस्ताक्षर गर्ने ६४ मध्ये कम्तीमा १० जना केन्द्रीय सदस्य रहेका छैनन् ।

निर्वाचन आयोगको दल दर्तासम्बन्धी ऐन अनुसार पार्टी विभाजन गरेर नयाँ पार्टी खोल्नका लागि कुल केन्द्रीय समितिको ४० प्रतिशत केन्द्रीय सदस्य र ४० प्रतिशत नै सांसद आवश्यक पर्छ । यदी विद्रोहीले सो प्रतिशत पुर्याउन नसेकेको खण्डमा पार्टीले वैधानिकता पाउन सक्दैन । निर्वाचन आयोगका प्रवक्ता सूर्य प्रसाद शर्माले आयोगमा पार्टी विभाजनको जानकारी आएको भन्दै आयोगले आवश्यक छानबिन गरिरहेको बताए । उनले दल दर्तासम्बन्धी ऐन अनुसार सम्पूर्ण प्रक्रिया पूरा भएको खण्डमा मात्रै पार्टी विभाजनको आधिकारिकता दिइने बताए ।

यी हुन् राप्रपा फुटाउन पशुपतिशमशेरलाई साथ दिने २० सांसद

राष्ट्रिय प्रजातन्त्र पार्टी विभाजित गराएर राप्रपा प्रजातान्त्रिक दल दर्ता गराउन नेता पशुपति शमशेर राणालाई २० सांसदले साथ दिएका छन् । राणाले आफूलाई २२ सांसदको साथ रहेको भने पनि दल दर्ताको निवेदनमा २० जनाले हस्ताक्षर गरेका छन् । निर्वाचन आयोग र संसद सचिवालयको सूचना अनुसार २० जना साँसदले कमल थापा नेतृत्वको राप्रपा छोडेर राणा नेतृत्वलाई समर्थन जनाएका छन् । राप्रपामा ३७ सांसद रहेकोमा अब अध्यक्ष कमल थापासँग १५ सांसद मात्र बाँकी छ ।१, आनन्दी पन्त कञ्चनपुर
२,विराज विष्ट ललितपुर
३,सीता लुइटेल काठमाडौ
४,कमलादेवी शर्मा कास्की
५,धानो महरा सिराहा
६,राजेश्वरी देवी सर्लाही
७,रेशमबहादुर लामा काभ्रे
८,शयन्द्र वान्तवा मोरङ
९,दिपक बोहोरा रुपन्देही
१०,रमेश कुमार लामा सिन्धुपाल्चोक
११,सरोज शर्मा काठमाडौ
१२,सुनिलबहादुर थापा धनकुटा
१३,गीता सिंह बाँके
१४,रामकुमार सुब्बा सुनसरी
१५,लिलादेवी श्रेष्ठ इलाम
१६,बबिना मोक्तान पाँचथर
१७,इस्तियाक अहमद खान रुपन्देही
१८,विक्रम पाण्डे चितवन
१९,राज्यलक्ष्मी श्रेष्ठ नुवाकोट
२०,लक्ष्मी थापा पासवान धनुषा