भरतपुर महानगर- मेयरको बाजी माओवादी केन्द्रकी रेणु दाहालको पोल्टामा

उपमेयरमा कांग्रेसकी पार्वती साह विजयी

भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी उम्मेद्वार रेणु दाहाल विजयी भएकी छन् ।कांग्रेस-माओवादी गठबन्धनकी संयुक्त उम्मेद्वार रेणु दाहालले निकटतम् प्रतिद्वन्द्वी एमालेका उम्मेद्वार देवी ज्ञवालीलाई २०२ हराउँदै महानगरपालिकाको पहिलो महिला मेयर भएकी हुन्।

शुक्रबार भएको वडा नम्बर १९ को मतदानपछि भएको हरेक मतगणनामा अग्रता लिएकी दाहालले अन्ततः विजयी भएरै छोडिन्। दाहालले ४३ हजार १ सय २७ मत ल्याएर विजयी भइन्। यस्तै एमालेका उम्म्मेद्वार देवी ज्ञवालीले ४२९२५ मत ल्याएर पराजित भए।

यस्तै उपमेयरमा भने नेपाली कांग्रेसकी पार्वती साह विजयी भइन्। कांग्रेस-माओवादी गठबन्धनकी संयुक्त उम्मेद्वार साहले फराकिलो मतान्तरमा एमालेकी उपमेयर उम्मेद्वारलाई हराएकी हुन्। पार्वतीले ४७ हजार १ सय ९७ मत ल्याएर विजयी भइन्।