यसरी भिड्दै छन् प्रदेश नम्बर २ मा दलहरु…

असोज २ गते प्रदेश नम्बर २ मा हुन गइरहेको स्थानीय तह तेस्रो चरणको निर्वाचन आफ्नो पक्षमा पार्न दलहरु अनेक रणनीति निर्माण गर्नमा यतिबेला व्यस्त छन् ।

स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनमा एमालेभन्दा ५० सिट पछि परेको कांग्रेसले तेस्रो चरणमा कमजोर ठाउँमा अन्य दलसँग तालमेल गर्ने भएको छ । प्रदेश नम्बर २ मा कमजोर रहेका तहमा तालमेल गर्न आठवटै जिल्लालाई केन्द्रले सर्कुलर गरेको छ । कांग्रेसले पहिलो र दोस्रो चरणमा सत्तासाझेदार माओवादी केन्द्रसँग केही तहमा तालमेल गरेको थियो ।

‘एक्लै जित्न सक्ने ठाउँमा हामी एक्लै लड्छौँ, एक्लै जित्न नसक्ने ठाउँमा सत्तारुढ दल माओवादी र राजपासँग चुनावी तालमेल गर्छौं’, कांग्रेस नेता विमलेन्द्र निधिले भने, ‘यसका लागि आठवटै जिल्लालाई निर्देशन दिइसकेका छौं।’ भारतसँग सीमा जोडिएका स्थानीय तहमा बलियो भएपनि पूर्व–पश्चिम राजमार्गका झन्डै २० तहमा तालमेल गर्ने पक्षमा कांग्रेस छ । राजमार्ग वरिपरि एमालेको पकड रहेकाले कांग्रेसले माओवादी र राजपासँग चुनावी तालमेलको तयारी गरेको हो ।
तेस्रो चरणअन्तर्गत २ असोजमा प्रदेश नम्बर २ का १२७ तहमा हुने निर्वाचनमा कांग्रेसले सय सिट जित्ने लक्ष्य लिएको छ । कमजोर ठाउँमा तालमेल गरेर भए पनि लक्ष्य हासिल गर्ने उसको योजना छ ।

एमालेले प्रदेश नम्बर २ को निर्वाचनमा कांग्रेसबाहेकका दलसँग तालमेलका लागि खुला रहने लचिलो नीति अख्तियार गरेको छ । २ असोजमा आठ जिल्लाका १२७ तहमा हुने निर्वाचनमा मुख्य प्रतिस्पर्धी कांग्रेस देखिएको विश्लेषण गर्दै एमालेले सो पार्टीबाहेकका जुनसुकै दलसँग तालमेल गर्ने नीति लिएको हो । ‘कांग्रेसबाहेकको जुन दल तयार हुन्छ, त्यही दलसँग तालमेलका लागि हामी खुला छौं,’ एमाले प्रदेश नम्बर २ संयोजक सत्यनारायण मण्डलले भने, ‘राजपाले चुनावमा भाग लिने निर्णय गरेर आवश्यकता ठान्यो भने ऊसँग पनि तालमेल हुन सक्छ, अरू दल लचिलो बने भने स्थानीय आवश्यकताका आधारमा तालमेलका लागि एमाले तयार हुन्छ ।’

प्रदेश नम्बर २ को निर्वाचनमा माओवादी केन्द्रले अधिकांश स्थानीय तहमा मधेसकेन्द्रित दलसँग तालमेल गर्ने योजना बनाएको छ । सो प्रदेशका धेरै तहमा मधेसी दलको प्रभाव भएकाले त्यहीअनुसार तालमेल गर्ने योजना यसको छ । ‘हामी जित्न सक्ने तहमा एक्लै प्रतिस्पर्धा गर्छौं,’ माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले भनिन्, ‘हामी कमजोर भएका तहमा अरू दलसँग तालमेल गरेर निर्वाचनमा जान्छौं ।’ आजको नयाँ पत्रिका दैनिकमा खबर छ