भरतपुर १९ मा १६०० मत गनियो, देवीकाे अग्रता घटदै

भरतपुर महानगरपालिकाको पछिल्लो मत परिणाम अनुसार ५ सय १२ मतले देवी ज्ञवाली अगाडि छन्। उनले ४१ हजार ५ सय ४३ मत प्राप्त गरेका छन् भने रेणु दाहालको मत ४१ हजार ३१ मत पाएकी छन्। हिजो भएको १९ नम्वर वडाको १६ सय मत गणना गर्दा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेणु दहालले मतान्तर घटाउँदै लगेकी छन् ।

उक्त वडामा शुक्रबार पुनः मतदान भएको थियो। पहिलो चरण निर्वाचनको मतगणनामा मतपत्र च्यातिएपछि निर्वाचन आयोग र अदालतले त्यहाँ पुन मतदान भएको हो। शुक्रवार रातीबाट सुरू भएको मतगणनास्थलमा एउटा पार्टीबाट ९ जना प्रतिनिधि छन्। त्यस्तै चार समूहमा बाँडेर मतगणना भइरहेको छ।

भरतपुर १९ मा ३ हजार ७ सय ९७ मतदाता मध्ये २ हजार ८ सय ७० मत खसेको छ। पहिलो चरणको निर्वाचनमा भन्दा २७ मत कम खसेको प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ। पहिलो चरणको निर्वाचनमा भरतपुर १९ मा २ हजार ८ सय ९७ मत खसेको थियो ।