नागरिकताका अभिलेख नै हराएपछि – सीडीओ कार्यालयमा तनाव

‘सहसचिवको नागरिकता अभिलेख नहुँदा राहदानी बनाउन पाएनन् । कन्तबिजोक रहेछ कार्यालयको,’ बुधबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बालकृष्ण पन्थी आफ्नै कार्यकक्षमा फोनमा कुराकानी गर्दै थिए । जेठ अन्तिम साता गृह मन्त्रालयबाट काठमाडौं सीडीओमा सरुवा भएका पन्थी कार्यालयको बिजोकबारे खुलेरै प्रस्तुत भए ।

‘वर्षौंदेखिका नागरिकताका अभिलेख छन् तर सुरक्षित छैनन्, कसलाई दोष दिने ? म केही महिना बसेर सक्दिनँ, अन्य कर्मचारीले पनि के गरुन् ? अधिकांश अभिलेख धुजाधुजा छन् । कति धमिराले खाइसकेका छन्’, उनले भने, ‘कर्मचारी तीन÷तीन महिनामा एउटा शाखाबाट अर्कोमा सरुवा हुने रहेछन् । अभिलेख सुरक्षा गर्ने कसले ? ‘

०४० देखि ०४६ सालसम्मका नागरिकताको अभिलेख नै गायब भएको कुरा उठाएपछि सीडीओ पन्थीले स्विकारे । लगत्तै उनले नागरिकता फाँटका प्रशासकीय अधिकृत नवराज ढकाललाई कार्यकक्षमै बोलाएर सोधे, ‘०४० देखि ०४६ सालसम्मका नागरिकताको अभिलेख हराएको विषयमा गृह मन्त्रालयबाट समेत प्रस्टीकरण सोधिएको छ । कहाँ गए अभिलेख, कसरी हराए ? 

ढकालले सबै फाइल गायब नभई ०४१, ०४२ र ०४६ सालका केही चलानी फाइल फेला परेको तर काम नलाग्ने अवस्थामा रहेको उत्तर दिए ।
हजारौं सर्वसाधारणको नागरिकता लिएको प्रमाण नभएपछि सीडीओ कार्यालयमा तनाव छ, अन्नपूर्ण पोस्टमा खबर छ ।