स्वाइनफ्लुको संक्रमणबाट एक जनाको मृत्यु

स्वाइन फ्लुको संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । अर्का एक जनाको अवस्था गम्भीर छ ।पोखराकी ३२ वर्षिया सविना थापाको काठमाडौंको ग्रिन सिटी अस्पतालमा मृत्यु भएको हो ।

केही दिन अगाडि निमोनियाको कारण अस्पतालमा उपचारका लागि आएकी थापाको उपचारको क्रममा स्वाइन फ्लुको संक्रमण भेटिएको अस्पतालका म्यानेजर मनिस दवाडीले जनाकारी दिए । केहि समय यता स्वाइन फ्लुको संक्रमण देखिए संगै मानिसहरुमा त्रास बढेको छ ।

पोखराकै रञ्जित सुनुवार ५ दिनदेखि भेन्टिलेसनमा उपचारत रहेको म्यानेजर थापाले बताए । उपचारत रहेपनि उनको अवस्था गम्भिर रहेको अस्पतालले जनाएको छ ।

झापाको विर्तामोडमा पनि स्वाइन फ्लूबाट दुई जनाको ज्यान गएको छ । बिर्तामोड–१ र ४ का दुई महिलाको स्वाइनफ्लूको संक्रमणबाट ज्यान गएको हो । बिर्तामोड–४ की ४७ वर्षीया अनितादेवी मित्तल र बिर्तामोड–१ की ३७ वर्षीया मनिषा अग्रवालको स्वाइनफ्लू रोगको संक्रमणबाट मृत्यु भएको हो । बिरामी भएपछि उनीहरुलाई उपचारका लागि भारत लगिएको थियो । भारतको राजधानी दिल्लीस्थित एपोलो हस्पिटलमा उपचारकै क्रममा मृत्यु भएको हो