भारतीय राजदूतसँगको परामर्शपछि बल्ल कुरा मिल्याे राजपाकाे

छिटै पदाधिकारी बैठक, चुनावमा जाने

मधेस केन्द्रित ६ वटा दल एकीकरण भएर गठन भएको राष्ट्रिय जनता पार्टी .(राजपा)को पदाधिकारी बैठक बुधवार पहिलो पटक बस्दैछ ।बुधवार दिउँसो बस्ने पदाधिकरी बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र पार्टीको भावी रणनीतिबारे छलफल हुने राजपा एक नेताले जानकारी दिए ।

‘पार्टी एकीकरण पछि पहिलो पटक बैठक बस्न लागेकोले पदाधिकारीबीच परिचय र चिनजान गर्ने कार्यक्रम छ’ नेता झाले भने, ‘चुनाव लगायत समसामयिक बिषयमा समेत छलफल हुन्छ ।’ असोज २ गते हुने स्थानीय तहको चुनावमा सहभागि हुने नहुने भन्ने बिषयमा समेत निर्णय हुने उनले बताए ।

राजपा पदाधिकारी बैठकको पूर्वसन्ध्यामा नेपालका लागि भारतीय राजदूत मञ्जिबसिंह पुरीले राजपा अध्यक्ष मण्डलका नेताहरुसंग परामर्श गरेका थिए । भारतीय राजदूतले चुनावमा सहभागि हुन राजपा नेताहरुलाई सुझाव दिएका थिए । नेता झाले भने आफू राजदूतसंगको बैठकमा उपस्थित नभएको भन्दै प्रतिक्रिया दिन चाहेनन् ।

राजपा नेताहरुले भने संविधान संशोधन नभइ चुनावमा जान नसकिने अडान राजदूत समक्ष राखेको राजपा स्रोतले बतायो । चुनावमा सहभागि हुने नहुने भन्नेमा राजपामा दुइ मत छ । संविधान संशोधन विधेयक संसदमा निर्णयार्थ पेश गरिए पारित नभइपनि चुनावमा जान सकिने एउटा धार छ भने अर्को धार संशोधन पारित नहुँदासम्म चुनावमा सहभागि नहुने अडानमा कायम छ ।

बैठकमा पार्टीभित्र देखिएको विबादको बिषयमा समेत छलफल हुने नेताहरुले बताएका छन् । आफूहरुले जिम्मेवारी नपाएको भन्दै रापजाका दोस्रो तहका नेता नेतृत्वसंग रुष्ट छन् । साविकको तमलोपाका दोस्रोतहका नेताहरुले भैरहवामा भेलाको आयोजना गरी नेतृत्वप्रति असन्तुष्टि जनाएका थिए ।