जिसस जाजरकोटकाे बाजी कांग्रेस–माओवादी केन्द्र गठबन्धनलार्इ

जिल्ला समन्वय समिति जाजरकोटमा कांग्रेस–माओवादी गठबन्धनले विजयी हासिल गरेको छ । संयोजकमा माओवादी केन्द्रका मनबहादुर रावल र सहसंयोजकमा नेपाली कांग्रेसका ज्ञानीप्रसाद शर्मा विजयी भएका हुन् ।

जिल्ला समन्वय समिति गठनका लागि बुधबार भएको निर्वाचनमा कुल १४ मतमध्ये रावलले ८ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका गोरे कार्कीले ६ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

सदस्यहरुमा कांग्रेसबाट तेजविक्रम शाह, कल्दर सिंह, जनक बादी र जुनकिरी दमाईं तथा माओवादी केन्द्रबाट वीरबहादुर रावत, गरिमा शाही र सरस्वती वष्ट शाह निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत लीलाराज अधिकारीले जानकारी दिए ।

जाजरकोटमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच गठवन्धन भएको थियो । दलीय सहमतिअनुसार दुई दलले गत आइतबार संयुक्तरुपमा उम्मेदवारी मनोनयनपत्र दर्ता गरेका थिए । सहमतिअनुसार संयोजकसहित चार पदमा माओवादी केन्द्रले र सहसंयोजकसहित पाँच पदमा कांग्रेसले उम्मेदवारी मनोनयनपत्र दर्ता गरेका थिए । जिल्लाका सातओटा स्थानीय तहका प्रमुख–उपप्रमुख गरी १४ जनाले जिल्ला समन्वय समितिको ९ पदका लागि मतदान गरेका थिए