सडकमा आतङ्क मच्चाउने गुण्डाका ट्रिपर बन्द गर्ने डिआइजी खनालको घोषणा

सर्वेन्द्र खनाल काठमाडौंको प्रहरी प्रमुख हुँदा धेरै गुण्डाहरुको भागाभाग भएको चर्चा निकै चल्ने गरेको थियो । उनले सहरका गुण्डा नियन्त्रण गर्न राजनीतिक दवावलाई पूरै छिचोलेर काम पनि गरे । तिनै खनाल अहिले महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भएका छन् । महाशाखा प्रमुख भएर आएको केही समयमा नै उनको फेरि चर्चा हुन थालेको छ । यसैक्रममा डीआईजी खनालले सडकमा आतंक मच्चाउने गुण्डाहरुका ट्रिपर बन्द गराउने घोषणा गरेका छन् ।

सोमबार काठमाडौंको बग्गीखानामा ट्राफिक ब्यवस्थापनबारे भएको एक छलफल कार्यक्रममा डिआइजी खनालले उक्त घोषणा गरेका हुन् । टिपर ब्यवसायी संघका प्रतिनिधिलाई नै सम्बोधन गर्दै खनालले डाँडा पाखा ओगट्ने र क्रसर चलाएर सडकमा पनि टिपर आतंक फैलाउने प्रवत्ति हटाउन जरुरी रहेको बताए । टिपर ब्यवसायमा गुण्डाको लगानी मौलाएको जनाउँदै उनले त्यस्ता टिपर बन्द गर्ने चेतावनी दिए ।

डिआइजी खनालले तीव्र गतिमा दौडिने, नियम नमान्ने र अरु सवारी तथा यात्रुलाई पेल्ने र ओभरलोड बोकेर सडक विगार्ने गरेको गुनासो व्यापक मात्रामा आइरहेको बताए । तर, अब त्यसलाई पूरै नियन्त्रण गर्ने उनको भनाई थियो ।

खनालले भने, ”टिपरले सडकमा मललाग्दी गर्ने कारणमध्ये गुण्डाको लगानी पनि हो । मसँग त्यस्ताको नाममा रहेको टिपरको लगत छ । त्यसको सातो मात्रै लिने होइन, तिनमा नामका टिपर बन्द गराउँछु ।’ डिआइजी खनालले कानुनको कार्यान्वननका लागि प्रहरी संगठन बनेको बताउँदै कानुन मिच्नेलाई कारवाही गर्न पछि नहट्ने स्पष्ट पारे ।