भ्याट छल्नेलाई नै कर मिनाहा…

राजस्व द्रुत गस्तीले २०६७ वैशाख १५ गते न्यु कार्की हार्डवेयर सेन्टरमा छापा मार्‍यो । अनुसन्धान हुँदा उसले बिक्री लुकाएको र नपाउने क्रेडिट दाबी गरेको भेटियो । उक्त हार्डवेयरले ३ करोड ४१ लाख रुपैयाँ भ्याट छलेको भन्दै भ्याट र अन्यसमेत गरी ४ करोड ३९ लाख रुपैयाँ र ९ लाख २५ हजार रुपैयाँ आयकर निर्धारण गरियो । आजको कान्तिपुरमा खबर छ ।

न्यु कार्की हार्डवेयरले कर प्रशासनको निर्णयविरुद्ध पुनरावेदन दिएन र कर पनि नतिरी बस्यो । पछि कर फर्छ्योट आयोगले आयकर ४ लाख ५० हजार र ४० लाख रुपैयाँ भ्याट लिने सम्झौता गरी अरू कर मिनाहा गरिदियो । यसरी भ्याटमा ३ करोड ९९ लाख र आयकरतर्फ ४ लाख ७५ हजार रुपैयाँ छुट दिइयो । आयोगको यो विवादास्पद निर्णयले सरकारलाई ४ करोड ३ लाख ७५ हजार रुपैयाँ नोक्सान पुगेको देखिन्छ ।

विवादमा परेको अर्को कम्पनी हो– निर्भाना गार्डेन होटल । उक्त होटलले रेस्टुरेन्टलगायतको कारोबारमा गलत कम्प्युटर बिल तयार गरी सेवाग्राहीबाट असुलेर कर छलेको ९५ लाख ९६ हजार रुपैयाँको ब्याजसमेत गरी १ करोड १६ लाख रुपैयाँ तिर्नुपर्ने भयो । आयोगले निर्भानाबाट ३० लाख रुपैयाँ मात्रै असुल्ने सम्झौता गरेका कारण राज्यकोषमा एक करोड ८६ लाख रुपैयाँ नोक्सान हुन पुग्यो ।

कर फर्छ्योट आयोगबाट कर मिनाहा सुविधा पाउने कम्पनीमाथिको पहिलो चरणको अनुसन्धानमा नक्कली भ्याट बिल प्रकरणमा मुछिएका २७ वटाजति कम्पनीले कर छुट पाएको देखिन्छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग स्रोतका अनुसार यस्ता कम्पनीको सूची किन पनि बढ्न सक्छ भने दोस्रो चरणमा अनुसन्धान हुने र एक करोडभन्दा कम कर छुट पाएका कम्पनीहरूमाथि अनुसन्धान नै सुरु भएको छैन । त्यसमध्ये दुइटा कम्पनीलाई दिइएको छुट मात्रै पहिलो मुद्दामा समावेश छ ।