भारत चीन विवादमा अमेरिका तानिँदै

भारत र चीनबीच चलिरहेको तनावमा अमेरिका पनि तानिन थालेको छ । पछिल्लो कालमा भारतसँगको चिनियाँ विवादलाई लिएर चिनियाँ र अमेरिकी मिडियाबीच आरोप प्रत्यारोप चलिरहेको छ । अमेरिकी संचार माध्यम वाशिङटन एक्जामिनरले चीन भारत विवादमा अमेरिकाले खुलेर भारतको समर्थन गर्नुपर्ने विचार सार्वजनिक गर्यो । टोम रोगनले लेखेको समाचार विश्लेषणमा भनिएको छ– ‘चीनसँग विवादमा भारतलाई सहयोग गर्ने प्रस्ताव अमेरिकाले प्रष्टसँग राख्नुपर्छ ।’

यो समाचार विश्लेषणलाइ उदृत गर्दै चिनियाँ धारणा सार्वजनिक हुने ठानिएको ग्लोबल टाइम्समा सु टानले लेखेका छन्– ‘जहाँ द्वन्द्व हुन्छ त्यहाँ अमेरिकाले उपस्थिति देखाउँछ र निष्पक्ष भूमिका निर्वाह नगरेर द्वन्द्व भड्काउँछ ।’ भारत र चीनको द्वन्द्व भड्काउन केही खास पश्चिमा शक्तिहरु सक्रिय भएको दावी गर्दै सु टान लेख्छन्– ‘विगतको भारत चीन युद्धमा अमेरिका र सोभियत संघको अदृष्य हात रहेको थियो । भारतले विगतबाट पाठ सिक्नुपर्छ ।’

उनी यो पनि लेख्छन्– ‘भारत र चीन दुवै युद्ध चाहँदैनन् ।

भारत र अमेरिका रणनीतिक साझेदारका रुपमा अगाडि बढिरहेका छन् र यसले चिनियाँ स्वार्थमा चोट पुगिरहेको छ । चीन र भारतको तनावमा अमेरिका कुनै न कुनैरुपमा मिसिन आउने आँकलन भइरहेको बेला अमेरिकी र चिनियाँ संचार माध्यमबीच अर्थपूर्ण सवालजवाफ चल्न थालेको छ ।

यसै बीच भारतको मुम्बईका लागि चीनका पूर्व कन्सुल जनरल लिउ योउफाले एक अन्र्तवार्तामा चीनको दोक्लम क्षेत्रमा अतिक्रमण गरेर पसेका भारतीय सेनाको सम्भावित तीनवटा हविगत हुने बताएका छन् । उनका अनुसार उनीहरु या त स्वेच्छिक रुपमा फर्कनुपर्ने छ, अथवा चीनले गिरफ्तार गर्नेछ या तनाव बढेर उनीहरु मारिनुपर्ने छ ।