देउवा नेतृत्वको सरकारमा थपिए १९ मन्त्री,नयाँ मन्त्रीहरूद्वारा अाजै सपथ ग्रहण

प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार दोस्रोपटक मन्त्रीमण्डल विस्तार गरेका छन्। बुधबार दिउँसो राष्ट्रपति कार्यालयमा नयाँ मन्त्रीहरूले सपथ ग्रहण गरेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष उनीहरुले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

बुधबार कांग्रेसबाट १०, माओवादी केन्द्रबाट ६, लोकतान्त्रिक फोरमबाट २ जना र नेकपा संयुक्तबाट १ जना मन्त्री थपिएका छन्। कांग्रेसबाट थपिने मन्त्रीमा यज्ञबहादुर थापाले कानुन मन्त्रालय, वीरबहादुर बलायरले भौतिक पूर्वाधार र योजना मोहन बस्नेतले सूचना तथा सञ्चार, सञ्जय गौतमले सिँचाइ, मीन विश्कर्माले वाणिज्य, अम्बिका बस्नेतले गरिबी निवारण र सहकारी, भीमसेनदास प्रधानले रक्षा, रामकृष्ण यादवले कृषि र राजन केसीले युवा तथा खेलकुद र महेन्द्र यादवले खानेपानी तथा सरसफाई मन्त्रालय सम्हालेका छन्।

माओवादी केन्द्रबाट ६ जना नयाँ मन्त्री थपिएका छन्। माओवादी केन्द्रबाट गिरिराजमणि पोखरेल स्वास्थ्य मन्त्री बनेका छन्। उनी चौथो पटक मन्त्री बनेका हुन्। महेन्द्रबहादुर शाही ऊर्जा मन्त्री बनेका छन्। माओवादीका प्रमुख सचेतक टेकबहादुर बस्नेत पनि मन्त्री बने। उनको पोर्टफोलियो भन्ने टुङ्गो लाग्न बाँकी छ। त्यस्तै माओवादीबाट शिवकुमार मण्डल, आशा खनाल कोइराला, सन्तकुमार चौधरी मन्त्री बनेका छन्।

माओवादीले तीन राज्यमन्त्री पनि पठाउने भएको छ। जाकिर हुसेन, रामसिंह यादव र शम्भु श्रेष्ठ माओवादीको तर्फबाट राज्यमन्त्री बन्न लागेको प्रवक्ता पम्फा भुषालले सेतोपाटीलाई जानकारी दिइन्। नेपाल लोकतान्त्रिक फोरमबाट जीतेन्द्र देव र गोपाल दहितले पनि आजै सपथ लिएका छन्। नेकपा संयुक्तकी मिथिला चौधरीले पनि आज मन्त्रीको सपथ लिएका हुन्।