कांग्रेसका चार गुट मिलेपछि बल्लतल्ल मन्त्रिपरिषद विस्तार

प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषद् विस्तार गरेका छन् । विस्तारित मन्त्रिपरिषदमा कांग्रेसबाट १०, माओवादीबाट ६, फोरम लोकतान्त्रिकबाट २ र नेकपा संयुक्तबाट एक मन्त्री बनेका छन् ।अब वर्तमान सरकार तीन उप्रधानमन्त्रीसहित २७ सदस्यीय भएको छ ।

ग्रेसबाट मन्त्री बनेकाहरु

नेपाली कांग्रेसबाट आज मन्त्री बनेकामा मोहनबहादुर बस्नेत, वीरबहादुर बलायर, अम्बिका बस्नेत, महेन्द्र यादव र मीन विश्वकर्मा छन् । बस्नेतले सूचना तथा संचार, बलायरले भौतिक पूर्वाधार, बस्नेतले सहकारी तथा गरीबी निवारण, यादवले खानेपानी र विश्वकर्माले बाणिज्य मन्त्रालयको जिम्मेवारी पाएका छन् । यिनीहरुमा बस्नेत खुमबहादुर खड्का समूह र बाँकि देउवा समूहका हुन् ।
वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट रामकृष्ण यादव, यज्ञबहादुर थापा, सञ्जय गौतम र राजन केसी मन्त्री भएका छन् । यादव कृषि, थापा कानुन, गौतम सिचाई, र केसी युवा तथा खेलकुद मन्त्री बनेका छन् ।  कृष्ण सिटौला समूहका भीमसेनदास प्रधानले रक्षा मन्त्रालयको जिम्मेवारी पाएका छन् । यसअघि कांग्रेसबाट गोपालमान श्रेष्ठ उपप्रधान एवं शिक्षा, ज्ञानेन्द्रबहादुर कार्की अर्थ र फर्मुल्लाह मन्सुर श्रम तथा रोजगारमन्त्री भइसकेका छन् । कांग्रेसले यो सरकारमा १३ मन्त्रालय पाएको छ ।

माओवादीका मन्त्रीहरु

माओवादीबाट गिरिराजमणि पोखरेल स्वास्थ्यमन्त्री, टेकबहादुर बस्नेत सामान्य प्रशासन, महेन्द्रबहादुर शाही उर्जा, शिवकुमार मण्डल आपूर्तिमन्त्री भएका छन् । आशा कोइराला महिला बालबालिका तथा समाज कल्याण र सन्तकुमार चौधरी पशुपक्षी मन्त्री भएका छन् ।
माओवादीबाट यसअघि कृष्णबहादुर महरा उपप्रधान तथा परराष्ट्र, जनार्दन शर्मा गृह र प्रभु साह सहरी विकासमन्त्री भइसकेका छन् । माओवादीले सरकारमा ९ मन्त्रालय पाएको छ ।

साना दलका मन्त्रीहरु

आज फोरम लोकतान्त्रिकबाट दुई र नेकपा संयुक्तबाट एक मन्त्री थपिएका छन् । फोरम लोकतान्त्रिकबाट जितेन्द्रनारायण देव नागरिक उड्डयन तथा पर्यटन र गोपाल दहित भूमिसुधारमन्त्री भएका छन् । फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार यसअघि नै उपप्रधान तथा स्थानीय विकासमन्त्री भइसकेका छन् । नेकपा संयुक्तका मिथिला यादवले वातावरण मन्त्रालयको जिम्मेवारी पाएकी छन् ।