‘भारतसँग १० दिनका लागिमात्र युद्ध सामग्री’, चीन वा पाकिस्तानसँग लडाँर्इ भए पराजय निश्चित !

चीन र पाकिस्तानसँग पछिल्लो समय तनावपूर्ण सम्बन्ध बनाएको भारतले युद्धको अवस्थामा १० दिनमात्र झेल्न सक्ने तथ्य उजागर भएको छ । भारतको नियन्त्रक एवं महालेखा परीक्षकको प्रतिवेदनमा यस्तो खुलासा भएको हो । प्रतिवेदनअनुसार भारतीय सेनासँग १० दिनका लागि मात्र गोलाबारुद भण्डार छ । सघन युद्धको अवस्थामा १० दिनका लागि मात्र गोलाबारुद हुनु निकै चिन्ताजनक मानिन्छ ।

संसदमा शुक्रबार पेश गरिएको सो प्रतिवेदनमा जनाइएअनुसार सैन्य मुख्यालयले सन् २००९ देखि २०१३ का बीचमा सैन्य सामग्री खरिदको प्रक्रिया सुरु गरेको थियो । सो प्रक्रियाअनुसारका केही सामग्री खरिद गर्ने काम सन् २०१७ सम्म पनि पुरा नभएको जनाइएको छ । अर्डिनेन्स फ्याक्ट्री बोर्ड (ओएफबी) को कामकाजको चर्को आलोचना गर्दै प्रतिवेदनमा भनिएको छ, ‘सन् २०१३ देखि ओएफबीका तर्फबाट आपूर्ति हुने गोलाबारुदको गुणवत्ता र मात्रामा कमी रहेकोतर्फ ध्यानाकर्षण गराइए पनि यस दिशामा कुनै प्रगति भएको छैन ।’

सो प्रतिवेदनका अनुसार युद्धको अवस्थामा ७० प्रतिशत ट्यांक र ४४ प्रतिशत गोलाबारुद १० दिनभित्रै समाप्त हुने अवस्था छ । उल्लेखनीय छ, भारत र चीनबीच पछिल्लो समय सैन्य तनाव बढेको छ । सीमा क्षेत्रमा दुवै पक्षका सेनाको उपस्थिति बाक्लो तुल्याइएको छ भने चीनले भारतलाई विनाशर्त सीमा क्षेत्रबाट सेना फिर्ता लैजान चेतावनी दिदैं आएको छ । 

चीनसँगको सीमा नाकामा सुरुङ खन्दै भारत, यस्ताे छ उद्देश्य….

भारतको सीमा सडक संगठन (बीआरओ)ले अरुणान्चल प्रदेशको ४१७० मिटर उचाइमा रहेको सेला दर्रा भएर निस्कनका लागि दुईवटा सुरुङ खन्ने भएको छ । उक्त सुरुङ खनिएपछि अरुणान्चलको तवाङ्गदेखि चीनको सीमासम्मको दूरी १० किलोमिटरसम्म कम हुने छ ।

बीआरओले एक विज्ञप्ती जारी गर्दै भनेको छ, ‘यी सुरुङ निर्माण गरिएपछि तेजपुरमा रहेको सेनाका २ कार्पको मूख्यालय र तवाङ्गको यात्रामा १ घण्टाको समय कम हुने छ ।’ सुरुङ निर्माण पछि १७१ किलोमिटर लामो बाटोमा हरेक मौसममा आवतजावत हुन सक्ने बीआरओको भनाइ छ । भारी हिमपातले सडक सम्पर्क टुट्ने अवस्था आए सेनाका लागि यो सडक बरदान सावित हुने जनाइएको छ ।