भाडा तिर्न नसकेपछि राप्रपाको कार्यालयमा ताला

लामो समयसम्म घरभाडा नतिरेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी लमजुङको कार्यालयमा घरधनीले ताला लगाइदिएका छन । कार्यालय प्रायोजनका लागि लिएको कोठाको भाडा नदिएको भन्दै घरधनी बालकृष्ण वाग्लेले ताला लगाएका हुन् । बेसीशहर नगरपालिकाको वडा नं. ८ शेरा ओरालोमा रहेको वाग्लेको घरमा राप्रपा कार्यालय रहेको थियो ।

विगत ८ बर्षदेखि कार्यालय राखिएकोमा २०७१ सालदेखि भाडा नपाएको घरधनी वाग्लेले बताए । वाग्लेले सोमबार बेसीशहरमा पत्रकार भेटघाट गरि राप्रपासँग घरभाडा बापतको १ लाख ५९ हजार रुपियाँ लिन बाँकी रहेको बताए ।

उक्त वक्यौता रकम २०७१ सालको ३० हजार, २०७२ सालको मासिक रु. ४ हजार ५ सयका दरले ५४ हजार, २०७३ सालको मासिक ५ हजारका दरले ६० हजार रुपैँया र २०७४ सालको बैशाखदेखी असार आजसम्मको १५ हजार बढी रकम तिर्न बाँकी रहेको पिडित वाग्लेले बताए । घरमुली बाग्लेले भने, ‘तीन वर्ष भयो भाडा पाएको छैन । माग्यो भोली भोली भन्छन ।’, कति बर्ष कुरेर बस्ने ? आजित भएर यस्तो गरेको हुम ।’

वाग्लेले प्रेस विज्ञप्ति निकाल्दै बैशाख ३१ को स्थानीय तहको निर्वाचन पश्चात राप्रपाको गत जेठ २० गते समिक्षा बैठक भएको र आफुले जेठ २१ गते सम्पर्क कार्यालयमा तालाबन्दी गरेपनि कुनै सुनुवाई नभएको बताए ।

यता राप्रपा अध्यक्ष इन्द्रबहादुर मल्लले लामो समय कार्यालयको भाडा तिर्न नसकेको स्वीकार गरे । उनले भने ‘राप्रपा नेपाल हुँदादेखिको भाडा बाँकी रहेछ । हामी भाडा तिर्ने तयारीमा थियौ धेरै रकम भएकाले एकमुष्ट तिर्न कठिन भएको हो ।’ नयाँ पत्रिकामा खवर छ ।