कस्तो छ पूर्वराजा ज्ञानेन्द्रको स्वास्थ्य अवस्था ? भेट्न पुगे पारस र हिमानी

पूर्वराजा ज्ञानेन्द्र शाहको स्वास्थ्य अवस्था सामान्य हुँदै गइरहेको चिकित्सकहरुले बताएका छन् । मुटुमा समस्या आएपछि काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा शाहलाई आज बिहान भर्ना गरिएको हो ।

नियमित चेक जाँचका क्रममा मुटुको धमनीमा केही अवरोध देखिएपछि अस्पताल लगिएको निर्मल निवास स्रोतले जनाएको छ । शाहको शुरुमा एनजीओग्राफी गर्ने र आवश्यक परे एनजीओप्लाष्ट गर्ने तयारी भएको जनाइएको छ ।

अस्पतालमा पूर्व रानी कोमल पूर्वयुवराज पारस, युवराज्ञी हिमानी पनि नर्भिक अस्पताल पुगेका छन् । उनी स्वास्थ्य परीक्षणका लागि दुई दिनसम्म नर्भिक अस्पताल रहने बताइएको छ ।

पूर्वराजाको स्वास्थ्य अवस्था बुझ्न शुभचिन्तक र सर्वसाधारणसमेत नर्भिक अस्पताल पुगेका थिए । ज्ञानेन्द्रको उपचारमा मुटुरोग विशेषज्ञ तथा शल्यचिकित्सक डा. यादवदेव भट्ट सहित ६ जना चिकित्सक सहभागी छन् ।

डा. भट्टका अनुसार हिँड्दाखेरी धमनीबाट मुटुसम्म कम रगत प्रवाह हुने समस्या छ । त्यसैले एन्जिओप्लाष्टी गर्नुका साथै स्टेन्ट पनि राखिदिएको बताए । अवस्था सामान्य बन्दै गएको र कुनै जोखिम नरहेको उनले बताए ।