आइसिएसपिडब्लुआइले किन लगाइरहेछन नरसंहारकारी मोदी सरकार मुर्दावादका नारा

विश्वका धनाढ्य देशहरूको संस्था ‘जि–ट्वेन्टी’ को जर्मनीको ह्याबर्गमा भइरहेको सम्मेलनलाई लिएर विश्वका अल्प विकसित तथा साम्राज्यवाद विरोधी मुलुकहरूका सङ्घसस्थाहरूले विरोधस्वरूप व्यापक जनप्रदर्शन गरेका छन् । खास गरेर युरोपेली माओवादी सङ्गठनहरूका साथै साम्राज्यवाद विरोधी सङ्घसंस्थाहरू यस कार्यमा अग्र पङ्क्तिमा देखिएका छन् ।

यो सम्मेलन आफ्नो मुलुकभित्रका जनतामाथि दमन गर्ने र अल्प विकसित र कमजोर मुलुकहरूमाथि आर्थिक-राजनीतिक हस्तक्षेप गरी आफ्नो नवऔपनिवेशिकता लाद्ने मुलुकहरूको ससम्मेलन भएकाले यसको विरोध गर्नु आवश्यक छ भन्ने तर्क उनीहरूको छ ।

यो सम्मेलनले गर्ने निर्णय, नीति र योजनाहरू धनाढ्य मुलुकहरू तथा साम्राज्यवादी मुलुकहरूको हितसित सम्बद्ध हुने र अनेक नाम दिएर उत्पीडित मुलुकहरूमाथि आर्थिक र राजनीतिक दमन गरिने हुनाले यो सम्मेलन केही सीमित मुलुकहरूले कसरी विश्वमा आफनो वर्चस्व कायम गर्ने नीतिसित सम्बद्ध छ भन्ने ठहर पनि उनीहरूको छ ।

यसैबीच भारतमा चलिरहेको जनयुद्धको समर्थनमा गठित अन्तर्राष्ट्रिय कमिटी ”आइसिएसपिडब्लुआइ” ले ‘अपरेसन ग्रिन हन्ट’ र हिन्दुवताका नाममा भारतीय उत्पीडित जनतामाथि निर्मम दमन गर्ने मोदीको जि-२० सम्मेलनमा सहभागिताप्रति विरोध जनाउँदै ६ जुलाईका दिन एक विज्ञप्ति प्रकाशित गरेको छ ।

सो विज्ञिप्तिमा, धर्मका नाममा भारतमा अल्पसङ्ख्यक मुस्लिम, दलित र आदिवासीहरूमाथि एकातिर तीव्र दमन भइरहेको छ भने अर्कातिर उत्पीडित जनताका पक्षमा लडिरहेका माओवादीहरूका विरुद्ध आम नरसंहार मच्चाइएको कुरा उल्लेख गरिएको छ । वक्तव्यमा भनिएको छ :

“जि-२० को सम्मेलनमा मोदीको सहभागिता भनेको आफ्नो देशका उत्पीडत जनतामाथिको दमनलाई अझ तीव्र बनाउन र निरन्तरता दिन साम्राज्यवादी मुलुकहरूको सहमति र सहयोगको आधार बनाउनु हो ।

हाम्रो जिम्मेवारी भनेको साम्राज्यवादको आडभरोसामा आफ्नै जनताको नरसंहार गरिहेको मोदी सरकारका विरुद्ध विश्वव्यापी जनमत निर्माण गर्नु हो । हामी साम्राज्यवाद र त्यसको दलाल मोदी सरकारका विरुद्ध नयाँ जनवादी गणतन्त्रका लागि जनयुद्ध लडिरहेका भारतीय उत्पीडित जनता र भारतीय कम्युनिस्ट पार्टी (माओवादी) को पक्षमा दृढताका साथ उभिन्छौँ ।”

सो वक्तव्यमा : नरसंहारकारी मोदी मुर्दावाद, अपरेसन ग्रीनहन्ट मुर्दावाद, साइबाबा, अजिथ र कोबाध गान्धीलगायतका राजनीतिक बन्दीहरूलाई अबिलम्ब रिहाइ गर, नक्सलबाडी विद्रोहको ५० वर्ष जिन्दावाद र भारतमा चलिरहेको जनयुद्धलाई समर्थन गरौँ भनेर पनि आह्वान गरिएको छ । जनमेलबाट