३८ अर्ब कर छलेर किन भाग्दैछ एनसेल ?

निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेल सरकारलाई ३८ कर छलेर भाग्ने दाउमा रहेको बताइएको छ ।
एनसेलले सरकारलाई तिर्नुपर्ने ६१ अर्ब रुपैयाँ लाभकरमध्ये २३ अर्ब ५७ करोड रुपैयाँ तिरेर बाँकी नतिरेर भाग्ने दाउमा रहेको स्रोतले बतायो । अहिले सरकारले पनि पूरै कर असल्न थप च्याप्न शुरु गरेको छ ।

सरकारले एनसेलसँग असुल्नुपर्ने लाभकर ६१ अर्ब रुपैयाँ निर्धारण गरेको छ । त्यसमध्ये एनसेलले अहिलेसम्म दुई खेप गरी २३ अर्ब ५६ करोड ९५ लाख ७१ हजार ५ सय रुपैयाँ मात्र तिरेको देखिएको छ । बाँकी ३७ अर्ब ४३ करोड ४ लाख २८ हजार ५ सय रुपैयाँ तिर्न बाँकी छ ।
एनसेलले पहिलो खेपमा ९ अर्ब ९६ करोड ९५ लाख ७१ हजार ५ सय रुपैयाँ तिरेर टार्न खोजेको थियो । त्यसबेला एनसेलमाथि जनतासँग पैसा उठाएर राज्यलाई कर छलेको र जनतालाई मार पारेको भन्दै तत्कालीन नेकपा माओवादीको उसको देशभरका २८ वटा मोवाइल टावरमाथि अघिल्लो वर्षको जेठको अन्तिम हप्तामा आक्रमण गरी कारवाही गरेपछि केही हप्तापहिले मात्र दोस्रो खेप १३ अर्ब ६० करोड रुपैयाँ कर तिरेको थियो ।

तर बाँकी करिब ३८ अर्ब रुपैयाँ नतिरेर कर छली गर्ने कोशिसमा लागिरहेको छ । यसैबीच संसदको लेखा समितिले एनसेनसँग बाँकी ३८ अर्ब रुपैयाँ तुरुन्त असुल्न सरकारलाई निर्देशन दिएको छ ।यसैबीच नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (तत्कालीन नेकपा माओवादी)ले बाँकी ३८ अर्ब रुपैयाँ तुरुन्त तिर्न माग गरेको छ । नतिरेर भाग्ने वा छल्ने कोशिस गरे कडा कारवाही गर्ने चेतावनी दिएको छ । सबै कर नतिरे कारवाही एनसेल भोग्न तयार हुनुपर्ने उसले बताएको छ ।

टावरमाथि आक्रमण गरेपछि नेकपाको केन्द्रीय टोलीसित एनसेल प्रतिनिधि टोलीले भेट गरी आर्थिक वर्ष ०७३-०७४ भित्र सम्पूर्ण कर तिर्ने प्रतिवद्धता व्यक्त गरेको थियो । तर उसले अझै आलटाल गरिरहेको छ । एनसेललाई विदेशी कम्पनी अजियाटाले चलाइरहेको छ ।