यसरी चीनसँग नजिकिँदै छ राजपा

तराई मधेसकेन्द्रित ६ वटा पार्टी मिलेर गठन भएको राष्ट्रिय जनता पार्टी नेपालले भारतसहित चीनलाई पनि उत्तिकै महत्व दिने नीति लिएको छ । पूर्ववर्ती छवि र चरित्र बदल्ने संकेत देखाएको राजपाले दक्षिणी छिमेकी भारतका साथै चीनलाई पनि उत्तिकै महत्व दिनुपर्ने भन्दै आफ्नो परराष्ट्र नीति सार्वजनिक गरेको छ ।

आजको नागरिक दैनिकमा खबर छ– निर्वाचन आयोगमा बुझाएको पार्टीको घोषणापत्रमा नै चीनका बारेमा पहिलोपटक औपचारिक धारणा राखेर नजिक हुने संकेत देखाएको हो ।‘छिमेकी मित्रराष्ट्र भारतसँगको प्राकृतिक, सांस्कृतिक एवं विशेष सम्बन्धलाई अझ उच्च र व्यवहारिक बनाइनुपर्ने पक्षमा यो पार्टी रहेको छ’, राजपाले परराष्ट्र सम्बन्धबारे उल्लेख गरेको छ, ‘साथै मित्रराष्ट्र चीनसँगको सम्बन्धलाई पनि अझ व्यवहारिक बनाइनुपर्ने पक्षमा यो पार्टी रहेको छ ।’

विश्व व्यापार संगठनसहित अन्य अन्तर्राष्ट्रिय संगठनद्वारा अल्पविकसित देशहरुलाई दियने सहुलियत र छुटको सदुपयोग एवं विदेशी सहायताको उपयोगसम्बन्धी नीतिलाई समुचित कार्यान्वयन गर्ने पनि राजपाले जनाएको छ ।