चिडियाघरका बाघलाई शनिबार ‘व्रत’

चिडियाघरमा रहेको बाघ सातामा एक दिन निराहार व्रत बस्छ भन्दा आश्चर्य लाग्न सक्छ । तर आश्चर्य नमान्नुस् । चिडियाघरमा रहेको दुईवटा पाटेबाघ कान्छा र बांगे सातामा एक दिन निराहार व्रत बस्छन् । यो खबर विनिता ओझाले आजको राजधानीमा लेखेकी छन्। बाघलाई आहाराका रूपमा हरेक दिन ११ देखि १२ बजेसम्म ६/६ केजीको दरले १२ केजी राँगाको ताजा मासु दिने गरिएको जिबकिपर बाबुकाजी महर्जन बताउँछन् । सातामा ६ दिन नियमित दिए पनि शनिबार दुवै बाघलाई निराहार राखिने गरेको छ । ३८ वर्षदेखि जिबकिपरको काम गर्दै आएका महर्जन भन्छन्, ‘उनीहरूको पाचन प्रणाली तथा स्वास्थ्यका लागि सातामा एक दिन निराहार राख्ने गरिएको छ ।’

हरेक पर्यटकले २ सय रुपैयाँ तिरेपछि आफ्नै हातले बाघलाई खाना खुवाउने व्यवस्था पनि छ । तर खाना आफैंले लान भने पाइँदैन। तोकिएको शुल्क तिरेपछि चिडियाघरले उपलब्ध गराएको खाना आफ्नै हातले बाघलाई दिन पाइन्छ । महर्जन भन्छन्, ‘सौखिनहरूका लागि आफैंले खाना खुवाउने व्यवस्था पनि गरेका छौं ।’ पर्यटकका लागि आकर्षणको केन्द्र बनेको जाउलाखेलस्थित चिडियाखानामा वार्षिक १० लाखभन्दा बढी पर्यटक घुमफिरका लागि आउँछन् । चिडियाखानामा अहिले १ सय १२ जाति र ७ सय ८७ प्रजातिका जीवजनावर छन् ।

चिडियाखानामा रहेका पशुपन्छीहरूको अवस्था बुझ्न दैनिक चारपटकसम्म अवलोकनका लागि कर्मचारी परिचालन गरिन्छ । पशुपन्छीमा कुनै रोगको लक्षण देखापरे तुरुन्त पशुचिकित्सक बोलाई उपचारको व्यवस्था मिलाइन्छ। वर्षमा दुईपटक जुकाको औषधि खुवाउने गरिएको कर्मचारी टुकबहादुर खड्काले बताए ।

‘वर्षमा दुईपटक जुकाको औषधि खुवाउनुका साथै अन्य औषधि उपचारमा मात्रै वार्षिक ४ लाख खर्च हुने गरेको छ,’ टुकबहादुरले भने । पाटेबाघ मात्रै होइन, हात्ती चढ्न र हात्तीसँग खेल्न पनि उत्तिकै रमाउँछन् पर्यटक । धान, सक्खर, मिनरल मिक्स्चर, पराल, नुन, गाँजर, फर्सी, आलु, बन्दा, घाँस गरेर एक दिनमा ३२ केजीबराबरको खानेकुरा हात्तीलाई दिइने गरेको छ । अहिले चिडियाखानामाएउटा मात्र हात्ती छ ।